अब सरकारी कर्मचारीको खाजा खाने समय आधा घण्टा मात्रै

लोकपथ
56
Shares

काठमाडौं । अब सरकारी कार्यालयमा खाजा खाने समय आधा घण्टा मात्रै हुने भएको ।

यसअघि प्राय सरकारी कार्यालयमा १ घण्टा समय दिने गरिएकोमा त्यसलाई घटाएर आधा घण्टा मात्रै बनाउन लागिएको हो ।

सरकारी कर्मचारीहरुले खाजा खाने बहानामा लामो समय लिएपछि सेवाग्राहीलाई मर्का परेको भन्दै गुनासो गर्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै त्यसमा चासो देखाएका हुन् ।

आइतबार राति प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्दै सरकारी कर्मचारीको खाजा खाने समय आधा घण्टा मात्रै बनाइने बताएका हुन् । जसअनुसार दिउँसो १ः३० बजेबाट २ बजेसम्म मात्रै खाजा खाने समय छुट्टयाइएको हो ।

त्यसो त आधा घण्टा भन्दा बढी समय खाजा खाने बहाना कर्मचारीले गरेमा हेल्लो सरकारमा गुनासो गर्न समेत प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।

ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ । खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन। कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकोले त्यसबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको छ। कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?