काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई नेपाली सेनाको महारथी पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा आज सोमबार आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति पौडेलसमक्ष नवनियुक्त प्रधानसेनापति सिग्देलले पद तथा गोपनीयताको शपथ लिएका हुन् । मुलुकको प्रमुख सुरक्षा संगठन नेपाली सेनाको ४५औँ प्रधानसेनापतिका रूपमा सिग्देलले आजैदेखि औपचारिक रूपमा सेनाको कमाण्ड सम्हाल्ने छन् ।
नेपालको संविधानले सेनालाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने महत्वपूर्ण जिम्मेवारी दिएको छ । यसका अलवा विपद् व्यवस्थापन, राष्ट्र विकास, शान्ति स्थापना, आन्तरिक सुरक्षा, वन तथा पर्यावरण सुरक्षा, ऐतिहासिक धरोहरको संरक्षण, राष्ट्रिय एकताको प्रवद्र्धन र आपतकालीन खोज तथा उद्धारका कार्य पनि सेनाको जिम्मेवारी क्षेत्रमा रहेको छ । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी थिए ।
सेनाका वरिष्ठतम् रथीका हैसियतले बलाधिकृतरथी सिग्देललाई सरकारले यसअघि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी प्रदान गरेअनुरुप उनले गत साउन २५ गतेदेखि सो जिम्मेवारी सम्हाल्दै आएक थिए । प्रधानसेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रावधानअनुसार वरिष्ठतम् रथी सिग्देलले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए । यसअघिका प्रधानसेनापति प्रभुराम शर्माले तीनवर्षे पदावधि समाप्त भई आजैदेखि अनिवार्य अवकाश पाएका छन् ।
प्रधानसेनापति सिग्देलले स्वदेश तथा विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गरेका छन् । आर्मी कमाण्ड एण्ड स्टाफ कलेज शिवपुरी र चीनको नेशनल डिफेन्स युनिभर्सिटीबाट स्नातक उहाँले आर्मी वार कलेजमा हायर कमाण्ड एन्ड म्यानेजमेन्ट कोर्ष र भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्ष पूरा गरेका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका विभिन्न कार्यशाला र व्यावसायिक सेमिनारमा भाग लिएका प्रधानसेनापति सिग्देलले त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । ३८ वर्षको सैन्य जीवनमा उनीसँग काउन्टर इन्सर्जेन्सी र जंगल वारफेयर स्कुलको कमाण्डेन्ट, इन्फन्ट्री ब्रिगेड र डिभिजनको कमाण्ड गरेको अनुभव छ । प्रधानसेनापति सिग्देलले सन् २०२२ मा अमेरिका–नेपाल तेस्रो ल्याण्डफोर्स वार्ताका लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गरेका थिए । कोरोना महामारीका समयमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को सचिवका रूपमा पनि उनले काम गरेका थिए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रणनीतिक महत्वका घटनालाई नजिकबाट चासोका साथ हेर्ने प्रधानसेनापति सिग्देलले संगठनभित्र अध्ययनशील र सकल दर्जाका कुरा सुन्ने व्यक्तित्वका रूपमा परिचय बनाएका छन् । उनले सैनिक संगठनभित्र युद्धकार्य, सम्भार विभाग, नीति महानिर्देशक र उपत्यका पृतनाजस्ता महत्त्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । उनले अन्तर्राष्ट्रिय क्षेत्रमा संयुक्त राष्ट्र शान्ति सेनाअन्तरर्गत पूर्वी युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियाजस्ता चुनौतीपूर्ण स्थानमा सेवा गरिसकेका छन् । सैनिक जीवनको उत्कृष्ट सेवाको कदरस्वरुप प्रधानसेनापति सिग्देल सुप्रबल जनसेवाश्री तेस्रोसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकबाट विभूषित छन् । संगठनको उन्नयनमा उत्कृष्ट योगदान पुर्याएबापत उनले दुईपटक ‘प्रधानसेनापति प्रशंसा पदक’समेत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया