भदौ २८ र २९ गते काठमाडौंमा नेपाल युथ समिट हुने

लोकपथ
7
Shares

काठमाडौं । स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले यही भदौ २८ र २९ गते काठमाडौंमा नेपाल युथ समिट (युवा सम्मेलन)आयोजना गरिने भएको छ । 

राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा काठमाडौं चाबहिलस्थित दुर्गा पार्टी भेन्युमा हुने समिटमा देशभरका करिब पाँच सय युवाको सहभागिता रहने कार्यक्रम संयोजक भुपेन्द्रजङ शाहीले जानकारी दिए । 

‘नेपाली युवाहरूलाई स्वदेशमै केही गर्न सकिन्छ र समुन्नत र समृद्ध नेपालको चाहनालाई पूरा गर्न युवाहरूको भूमिका अतुलनीय रहन्छ भन्ने कार्यक्रमको अभिप्राय हो । समिटको उद्देश्य भनेको समाजका विभिन्न क्षेत्रका स्थापित र सक्षम युवाहरुको बृहत भेला, एकता र सहकार्यमार्फत, नयाँ  विचार, युवाको क्षमता विकास, साझा एजेण्डा, देशमै रोजगारी  सृजनाको वातावरण, उद्यमशीलता र नवप्रवर्द्धन, समाजमा सकारात्मक परिवर्तन र राष्ट्र निर्माणको साझा संकल्प गर्नु हो,’ संयोजक शाहीले भने । 

समिटमा विभिन्न क्षेत्रमा विशिष्ट भुमिका निर्वाह गरिरहेका युवाहरूले भाग लिने कार्यक्रम तय भएको छ । आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, उद्यमशीलता, आप्रवासन, युवा सरोकार, खेलकुदलगायत विभिन्न विषयहरूमा विषयगत छलफल गरी राष्ट्र निर्माणमा साझा संकल्पसहितको सात बुँदे घोषणापत्रसमेत जारी गर्ने राष्ट्र निर्माण मञ्च नेपालका अध्यक्ष निर्मल कुमार उप्रेतीले जानकारी दिए । 

समिटमा देशभरबाट उत्कृष्ट युवा उद्यमी, व्यवसायी, चिकित्सक, पत्रकार, खेलाडी, कलाकार, जनप्रतिनिधिलगायतको उपस्थिति रहने पनि उनले जानकारी दिए । दुई दिनसम्म चल्ने समिटमा फरक एजेण्डाहरुमा विभिन्न सत्रहरू चल्नेछन् ।

समिटमा चर्चित उद्योगी विनोद चौधरी, उद्योग वाणिज्य संघकी पूर्व अध्यक्ष भवानी राणा, बैंकर्स भरत ढकाल, चर्चित उद्यमी विदुषी राणा, बैंकर्स मनोज ज्ञवालीलगायत विभिन्न क्षेत्रका विज्ञहरु, युवा उद्यमीहरु, सामाजिक अभियन्ताहरु, जनप्रतिनिधिहरि वक्ताको रुपमा रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?