काठमाडौं । चितवनको दुई सहकारीबाट बचत रकम फिर्ता नपाएका पीडितहरुले कांग्रेस महामन्त्री एवं सांसद गगनकुमार थापालाई ज्ञापनपत्र बुझाएका छन् ।
कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा भाग लिन त्यहाँ पुगेका थापालाई पीडितहरुले ज्ञापनपत्र बुझाएका हुन् ।
चितवनको साहारा चितवन बहुउद्देशीय सहकारी र सनराइज बचत तथा ऋण सहकारी संस्थाका पीडितहरुले थापालाई समस्या समाधानका लागि पहलकदमी लिन आग्रह गरेका हुन् ।
चितवनका सहकारी पीडितहरुले गठन गरेको संघर्ष समितिका संयोजक रहेका शालिकराम दुवाडीले थापाले सहकारी पीडितको पक्षमा संसद्मा निरन्तर आवाज उठाएको र थप प्रभावकारी कदम चाल्न समेत आग्रह गरे ।
‘सहकारीका नाममा ठगिएकाहरूका पक्षमा उहाँले जोडदार आवाज उठाउनु भएको हो । सहकारीको आवरणमा ठगि गर्ने ठगहरूलाई कारवाही हुनु पर्छ भनेर उहाँले संसदमा भूमिका खेल्नु भएको हो,’ उनले ज्ञापनपत्र बुझाएपछि भने, ‘यो खबरदारी हामीले न्याय नपाउँदासम्म जारी नै राख्नु होला भनेर ज्ञापनपत्र बुझाएका छौं ।’
सहकारी पीडितहरुसँग थापाले आफूले निरन्तर त्यस विषयमा आवाज उठाइरहेको र आगामी दिनमा पनि पीडितले न्याय नपाएसम्म आवाज उठाउने बताए । साथै सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित समितिको प्रतिवेदनले ठोस निर्णय निकाल्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया