काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले राजदूत सिफारिस गर्दा समावेशी हुन नसकेको बताएकी छिन् । सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले राजदूत सिफारिस गर्दा मुस्लिम र दलितको खोजी भएको बताएकी हुन् ।
तर, राजदूत नियुक्त गर्दा कूटनीतिमा ज्ञान भएकाहरूको सूची बनाउनुपर्ने बताइन् । परराष्ट्रमन्त्री राणाले संविधानका धारामा पाएको अधिकार पनि नपाइएको बताइन् । उनले राजदूत सिफारिस गर्दा ५० प्रतिशत कर्मचारी हुनुपर्ने व्यवस्था भएको उल्लेख गर्दै यो पटक महिलालाई प्रमोट गरिएको बताइन् ।
उनले यति प्रतिशत महिला हुनुपर्छ भनेर नतोक्दासम्म निर्णायक पदमा महिला पुग्न गाह्रो भएको बताएकी हुन् ।
उनले भनिन् , ‘कुनै पनि ठाउँमा निर्णायक पदमा महिला राख्नको लागि यति हुनैपर्छ भनेर नतोकिँदासम्म पदमा पुग्न महिलालाई गाह्रो छ । अहिले पनि हामी दुई जना बल्लतल्ल महिलाको तर्फबाट प्रतिनिधित्व गरेर काम गरिरहेका छौँ । त्यस्तै ठ्याक्कै प्रतिशत हुनुपर्छ भनेर नतोकिँदासम्म महिलाहरुलाई सधैँ गाह्रो पर्नेछ ।’
उनले भनिन्, ‘जति समावेशी हुनुपर्थ्यो, समानुपातिक हुनुपर्थ्यो त्यो भएको छैन । मन्त्री, सांसद र समिति भनेका एकअर्काका परिपूरक हुन् । सांसद र संसदीय समितिहरु बढी जिम्मेवार हुनुपर्छ ।’
परराष्ट्रमन्त्री राणाले भनिन्, ‘१९३ देशमा नेपालीको बसोबास छ । डायस्पोरालाई कसरी सम्बोधन गर्ने ? यसलाई ध्यान दिनुपर्छ । जनता र देश अगाडि बढिसक्यो कूटनीति भने १९८० को रहेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया