इथानोल मिश्रणको नीतिमा सरकार अघि बढिसक्यो : मन्त्री भण्डारी

लोकपथ
56
Shares
फाइल तस्बिर

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नीतिमा धेरै अघि बढिसकेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजले सोमबार राजधानीमा आयोजना गरेको ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको वृहत बहस’ कार्यक्रममा मन्त्री भण्डारीले इथानोल मिश्रणको नीतिमा सरकारले आवश्यक तयारी पूरा गरिसकेको बताएका हुन् ।

मन्त्री भण्डारीले भने, ‘नेपाललाई वार्षिक ३ लाख मेट्रिकटन चिनीको आवश्यक पर्छ । एक लाख ८० हजार मेट्रिक टन आयात भएको छ । तर पनि बजारमा अभाव छ । भोलि यही नियति नेपाल आयल निगमले भोग्ने त होइन । नेपालमा अमेरिका वा अन्य देशबाट आयात हुने मकै १० हजार मेट्रिकटन आउँछ । आयात गरेर हामीले इथानोल बनाउने हो । त्यसपछि उपभोक्तामा जाँदा त्यसको मूल्य कति हुने ? करिब एक अर्बको आसपासमा आयात भइरहेको छ ।

इथानोल बनाउने हो भने त्यसको दोब्बर बढी ल्याउनुपर्ला । हामीसँग उत्पादन छैन । आयातलाई २० प्रतिशत कम गर्न सक्ने तहमा छौँ । उत्पादन छ, आयात प्रतिस्थापन गर्दैछौँ । २० प्रतिशत योगदान गर्छौँ । उत्पादन गर्छौँ भन्ने तहमा छौँ भने मन्त्रालयको विशेष प्राथमिकतामा रहेको इथानोल मिश्रणको विषयमा मन्त्रालय सहमत छ । विनियमावली बनिसकेको छ । मूल्य तोक्न बाँकी छ । त्यो पनि एक महिनाभित्र टुग्याउँछौं । त्यसपछि उत्पादनसँग १० प्रतिशतमा जाने हो भने दुई लाख प्रत्येक दिनको लागि हामीसँग छैन । सरकारको प्राथमिकतामा रहेको कार्यक्रम प्रतिकुलतामा भए पनि सुरु गर्न चाहन्छौँ । मूल्य चाँडै तोक्छौँ । यो एक महिनाभित्र सरकारले नीतिगत रूपमा टुँग्याउनुपर्ने विषयहरूलाई टुग्याउँछौँ । वैदेशिक लगानीमा इथानोल उत्पादन गर्ने प्रस्तावहरू मन्त्रालयमा आएका छन् । कसरी उत्पादन गर्ने चिनी उत्पादक संघले मात्रै सम्भव छ ।’ 

इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारीको सिर्जना गर्न समेत सहयोग पुग्ने उनको भनाइ छ । साथै उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारीको सिर्जना हुने बताए ।

उनले इथानोल उत्पादनले मुलुकको कृषि क्षेत्रमा फाइदा हुने बताए । उनले मुलुकमा जलविद्युत उत्पादनको ठुलो सम्भावना भए पनि तत्काल आवश्यकता अनुसार उत्पादन गर्न नसक्ने भन्दै वातावरणमा पनि राम्रो हुने बताए ।

उनले १० प्रतिशतसम्म इथानोल प्रयोग गर्दा सवारी साधनको इन्जिन पनि परिवर्तन गर्न नपर्ने अवस्था रहेको बताए ।

नेपाल आयाल निगमका प्रमुख कार्यकारी अधिकृत डा.चण्डिकाप्रसाद भट्टले इथानोल उत्पादन र प्रयोग हुँदा इन्धनको खपत घट्ने बताए । उनले इथानोलको प्रयोगले दैनिक ४ लाख किलोलिटर इन्धनको खपत घटाउन सहयोग पुग्ने बताए ।

उनले सरकार इथानोल उत्पादन र प्रयोगमा निकै अघि बढिसकेको बताउँदै पेट्रोलियम पदार्थमा इथानोल मिश्रणका लागि २०६० सालमा नै योजना बने पनि विविध कारणले विलम्ब हुन गएको बताए । उनले यसलाई कार्यान्वयनमा लैजाने पहल भइरहेको र केही महिनामै उत्पादन सुरु हुने पनि बताए ।

उनले इथानोल उत्पादन र प्रयोगको सन्दर्भमा प्रस्तावसँगै कार्यविधि पनि बनाउनुपर्ने भएकाले उद्योग विभागले कार्यविधिका लागि स्वीकृति दिइसकेको बताए । उनले इथानोलको प्रयोगले दैनिक ४ लाख किलोलिटर इन्धनको खपत घटाउन सहयोग पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?