काठमाडौं । दुबईस्थित अमरबहादुर हस्पिटालिटी सर्भिसेजले नेपाली चेलिबेटीहरुमाथि चरम श्रम शोषण गर्ने गरेको पाइएको छ ।
म्यानपावर कम्पनीमार्फत् विभिन्न कामका लागि नेपाली चेलिबेटी माग गर्ने, माग गरेबमोजिमका नेपाली महिला दुबई पुगेपछि श्रम सम्झौताअनुसारको काममा नलगाउने, सम्झौतामा भएअनुसारको तलव पनि नदिने र त्यसविरुद्ध आवाज उठाउनेमाथि कुटपिट गर्ने अमरबहादुर हस्पिटालिटी सर्भिसेजको धन्दा नै बनेको छ ।
यतिमात्र नभई आफूले भनेबमोजिम काम नगर्नेहरुमाथि दुबईबाट बाहिर जान नपाउने र सजाय कटेपछि स्वदेश फर्किए पनि पुनः दुबई जान नपाउने गरी ‘ब्ल्याक लिस्ट’ मा राख्ने गरेको छ । सो सर्भिसेजले त्यहाँ कामदार सप्लायर्सको काम गर्दै आएको छ ।
अमरबहादुर हस्पिटालिटी सर्भिसेजको अमानवीय व्यवहारमा परेकी एक युवती अहिले दुबईमा कार्यरत सामाजिक संस्था ‘मिस्टर गुरुङ एन्ड टिम’ को सम्पर्कमा पुगेपछि सो त्यसको वास्तविक धन्दा छताछुल्ल भएको छ । कुस्मा श्रेष्ठ नाम गरेकी करिब २२ वर्षीया ती युवतीको श्रम शोषण सो सर्भिसेजका मालिक अमरबहादुर विकले कसरी गरे ? आफूमाथिको अन्यायबारे आवाज उठाउँदा उनलाई कसरी कुटपिट गरियो ? पीडित युवती श्रेष्ठ कसरी ‘मिस्टर गुरुङ एन्ड टिम’ को सम्पर्कमा पुगे ? ‘मिस्टर गुरुङ एन्ड टिम’ ले उनको नेपाल फिर्तीका लागि के कस्तो कदम चालिरहेको छ ? यो विषयमा हामी केही जानकारी दिन गइरहेका छौँ ।
खासमा कुस्मा श्रेष्ठले वैदेशिक रोजगारीका लागि दुबई जान एन्जल मेनपावरमा आफ्नो डकुमेन्ट छाडेकी थिइन् । तर, भिसा भने सुलभ मेनपावरबाट लाग्यो । उनको भिसाका लागि गोरखाकी सुनिता गुरुङले सहजीकरण गरेकी थिइन् । दुबईमा अपार्टमेन्ट क्लिनरको लागि भिसा लागेपछि उनी भने बमोजिमको काम पाउने भएँ भनेर खुसी पनि भएकी थिइन् । दुबई पुगेपछि दिइएको आईडीमा पनि होटल/अपार्टमेन्ट क्लिनर नै लेखिएको छ ।
तर उनको खुसी लामो समयसम्म टिकेन । कामदार माग गर्ने अमरबहादुर हस्पिटालिटी सर्भिसेजले उनलाई आईडीमा भनिए बमोजिमको काम दिएन । उनलाई घरको काम गर्न पठाइयो । उनले सुरुमा यो विषयमा कुरा नउठाएकी पनि होइनन् । कुरा उठाउँदा पछि पठाउने भनेर थामथुम गरियो । तर त्यो पछि भन्ने कुरा कहिले आएन । बरु उनलाई भनेबमोजिमको तलव पनि दिइएन । खासमा उनी मासिक १३०० दिराम पाउने गरी दुबई गएकी थिइन् । तर उनलाई एक हजार दिरामभन्दा बढी दिइएन । पछि त यतिसम्म हुन थाल्यो कि सो सर्भिसेजले उनलाई मासिक तलव दिनै छाड्यो । उनी दुबई गएको सात महिना बितिसकेको छ । तर तीन महिनाभन्दा बढीको तलव पाएकी छैनन् ।
आफूमाथि दिनप्रतिदिन ‘अन्याय’ हुन थालेपछि उनले यो विषयमा के बोलेकी मात्र थिइन्, उनीमाथि उनी बसेकै कोठामा कुटपिट हुन थाल्यो । उनलाई एक नेपाली महिला नै लगाएर कुटपिट हुने गरेको खुलाएकी छिन् । सीता राना नाम गरेकी केटीले कुट्ने गरेको लोकपथलाई प्राप्त भिडियोमा समेत देख्न सकिन्छ । कुस्मालाई कुटपिट गरेको, कोठाबाट धकेलेर बाहिर निकालेको, अश्लील गालीगलौच गरेको भिडियो फुटेज लोकपथ डटकमसँग सुरक्षित छ ।
अमरबहादुर हस्पिटालिटी सर्भिसेजले कुस्मालाई पछि त्यहाँको प्रहरी समक्ष ब्ल्याक लिस्टमा रहेको पत्र पनि पठायो । अमरबहादुर हस्पिटालिटी सर्भिसेजको यस्तो अमानवीय गतिविधिका कारण उनी अहिले प्रहरी केस गर्ने अवस्थामा पनि छैनन् । प्रहरी केस गरेको अवस्थामा उनैलाई प्रहरीले पक्राउ गरी हिरासतमा राख्छ ।
कुस्मा अहिले ‘मिस्टर गुरुङ एन्ड टिम’ को संरक्षणमा छिन् । सो टिमले उनलाई नेपाल पठाउनका लागि अहिले आवश्यक प्रक्रिया थालिसकेको छ । बढीमा ३, ४ दिनभित्र उनलाई काठमाडौं पठाउने गरी सो टिमले काम गरिरहेको छ ।
मिस्टर गुरुङ एन्ड टिमका एक सदस्यका अनुसार, सो टिमले अहिलेसम्म दुबईमा अप्ठेरोमा परेका झण्डै ७० जनालाई उद्धार गरी नेपाल फकाईसकेको छ । नेपाल पठाउनका लागि सो टिमले स्वतन्त्र वैदेशिक उद्धार श्रमिक संघको समन्वयमा काम गरिरहेको छ । यो संस्थाको कार्यालय काठमाडौंको चाबहिलमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया