अर्थमन्त्रीले गरे सञ्चय कोषको प्रशंसा, विश्वास कायम राख्न सुझाव

लोकपथ
49
Shares

काठमाडौं । उपप्रधान एवं  अर्थमन्त्री विष्णु पौडेलले राम्रो काम गर्नको लागि कुनै पनि निकायलाई सीमा नतोकिएको बताएका छन् । 

मंगलबार ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले कर्मचारी सञ्चय कोषको अवस्था सही ढंगले चलेको उल्लेख गर्दै कोषप्रति सञ्चयकर्ताले राखेको विश्वास कायम राख्न आग्रह गरे । 

उनले भने, ‘कर्मचारी सञ्चय कोषको अवस्था ठिकै ढंगले चलेको जानकारी पाए । राम्रो काम गर्नका लागि कुनै पनि सीमा तोकिएको छैन । तपाईँहरूले कति धेरै काम गरेपछि चित्त बुझाउनुहुन्छ । त्यसकारण राम्रो गर्नुभएको छ, राम्रो गर्नुस् । सञ्चयकर्ताहरुले यो संस्थामाथि भरोसा गरेको छ । संस्थाको सबैभन्दा ठुलो भरोसा भनेको पनि सञ्चयकर्ता हो । उनीहरुको विश्वास संस्थाप्रति सबल हुँदै जानेगरी संस्थाले काम गर्नुपर्छ ।’ कोषमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै जनशक्तिको आवश्यक सदुपयोग गर्नुपर्ने उनको भनाइ थियो । 

उनले भने, ‘संस्थाले नयाँ नयाँ प्रविधिमा जानुपर्छ । त्यस्तैगरी कुन जनशक्ति कुन कामका लागि, कसरी परिचालन गर्नेबारेमा ध्यान दिनुहोला । धेरैभन्दा धेरै सञ्चयकर्ताहरुको बीचमा पुग्नको लागि यथेष्ट ठाउँ रहेकाले यसको सदुपयोग गर्न जरुरी छ । यससम्बन्धी कानुन संशोधन, नियमावलीका कुरामा तपाईँका आग्रहका आधारमा म कानुन र नियमावली बनाएर पठाइदिन्छु भन्ने नठान्नुहोला । मसँग सयौँ कामहरू छन् । यसका लागि तपाई आफैँले फाइल बोकेर जान सक्नुपर्‍यो । छलफल र मिटिङ गर्नुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?