काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र हिमालयन ट्याटु समिटको सहकार्यमा ट्याटु वर्कसप तथा ट्याटु सेमिनार हुने भएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा भदौ २५ र २६ गते दुई दिन ट्याटु वर्कसप तथा ट्याटु सेमिनार हुन लागेको हो ।
सोही क्रममा मंगलबार भएको कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकला प्रज्ञा–प्रतिष्ठानले ट्याटुलाई पनि कलाको एउटा उपविधाको रुपमा स्वीकार गरेको बताएका छन् ।
उनले भने, ‘यो भन्दा अगाडि कार्टुनलाई प्रवेश गराएका थियौँ । अहिले ट्याटुसँग जोडिएका छौँ । प्रतिष्ठानले पनि यो विधालाई कलाको एउटा उपविधा हो भनेर स्वीकार गरेको छ । सामाजिक रुपान्तरणमा यसलाई पनि जोड्न सकिन्छ । त्यस कारण यो विधालाई पनि बाहिर ल्याउनुपर्छ । कुनै पनि प्रकारको क्षमता लुक्न हुँदैन भनेर यो विधालाई स्वीकार गरेका हौँ ।’
यसको साथै, उनले ट्याटुले समाजमा भोलि समस्या ल्याउँछ भन्ने खालको हल्ला रहेको भन्दै त्यो चुनौतीको सामना गर्न र त्यसलाई चिर्नको लागि पनि यसलाई प्रवेश गराएको बताए ।
उनले भने, ‘ट्याटुलाई समाजले राम्रो नजरले हेरेको छैन । यसले समाजमा भोलि समस्या लिएर आउँछ । कलाको क्षेत्रमा यसलाई प्रवेश गराउनु हुँदैन भन्ने खालको हल्ला छ । त्यो चुनौतीको सामना गर्न र त्यसलाई चिर्नको लागि प्रवेश गराएका हौँ । यो पनि कला त हो यसलाई सामाजिक रुपमा नल्याउने हो भने यो क्षेत्र त पछाडि नै पर्छ ।’
उनले नेपाल सरकार र समाजले सबैको लागि एउटा दायर बनाएको भन्दै दायरामा बसेर नै काम गर्न पनि सबैलाई आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया