नवनियुक्त प्रधानसेनापतिले फास्ट ट्र्याक आयोजना प्रमुख पोखरेलको म्याद थपेनन्, अब अवकाशमा जाने

लोकपथ
1.2k
Shares

काठमाडौं । नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले पदावधि थपका लागि सिफारिस नगरिदिँदा काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) को आयोजना प्रमुखसमेत सहायक रथी विकास पोखरेल अवकाशमा जाने भएका छन् ।

नेपाली सेनामा प्रधानसेनापतिले चाहेमा म्याद थप गर्न सक्ने व्यवस्था भएपनि नवनियुक्त प्रधानसेनापति सिग्देलले म्याद थप्न नचाहँदा पोखरेल अवकाशमा जाने भएका हुन् ।

स्रोतका अनुसार फास्ट ट्र्याकलगायतका विकास निर्माण गर्ने महानिर्देशनालयको नेतृत्वमा रहेका सहायकरथी पोखरेलको काम सन्तोषजनक नभएको, आर्थिक अनियमितता गरेकोलगायतका कारण प्रधानसेनापति सिग्देलले पदावधी थपका लागि सिफारिस नगरेका हुन् ।

म्याद थप भएको भए पोखरेल २०८४ सम्म उमेर हदका कारण सेनामा रहन सक्थे । म्याद थप नभएसँगै सहायक रथी पोखरेल सोमबारदेखि नै घर बिदामा बसेको सैनिक मुख्यालय स्रोतले जनाएको छ ।

म्याद थप नभएर अवकाशको पत्र थमाएपछि पोखरेल बिदामा बसेका हुन् । उनी असोज ७ गतेबाट अवकाशमा जानेछन् ।
पोखरेलको अवकाशपछि नवनियुक्त प्रधानसेनापति सिग्देलले काठमाडौं–तराई द्रुतमार्गको आयोजना प्रमुखको जिम्मेवारी उपरथी कमलविक्रम शाहलाई दिएका छन् ।

उपरथी शाहले यसअघि फास्ट ट्र्याक प्रमुखको रुपमा २०७९ असोजदेखि २०८० पुससम्म काम गरिसकेका छन् । शाहले नै २०८० पुसमा पोखरेललाई सो जिम्मेवारी हस्तान्तरण गरेका थिए । ८ महिनापछि शाहले पुनः पोखरेलबाट जिम्मेवारी लिएका हुन् । शाह नेपाली सेनाको इन्जिनियरिङ विभाग प्रमुख हुन् ।

प्रधानसेनापति प्रभुराम शर्मा अनिवार्य अवकाशमा गएपछि सिग्देलले सोमबार मात्रै आफ्नो कार्यभार सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?