काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले सबै जनतालाई समान अवसर प्रदान गरेमात्र वीपी कोइरालाको सपना साकार हुने बताएकी छन ।
मंगलबार नेपाली कांग्रेसको पेशागत तथा वुद्धिजिवी विभागले आयोजना गरेको ‘वीपीको समाजवाद आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले वीपीको सपना भनेको नेपाललाई समृद्ध बनाउने मात्र होइन हरेक वर्ग, समूदाय र सबै तहका नागरिकलाई सहजै रुपमा शिक्षा, औषधी, रोजगारी प्रदान गर्ने रहेको औंल्याइन ।
‘वीपीले एउटा सपना देख्नु भएको थियो । त्यो सपना नेपाललाई समृद्ध बनाउने मात्र होइन हरेक वर्ग, समूदाय र सबै तहलाई शिक्षा, औषधी, रोजगारी प्रदान गर्ने थियो । यही नै आजको प्रजातन्त्रको बाटो हो । तर पनि आज लाखौ युवाहरु बेरोजगार छन, विदेशिनु परेको छ । उनीहरुलाई नेपालमा भित्राएर रोजगारी दिने अवसर सिर्जना गर्नु नै आजको समाजवादको पाटो हो,’ उनले भनिन् ।
महिला, आदिवासी जनजाति, अल्पसंख्यक वा सिमान्तकृत समूदायलाई समान अधिकार प्रदान गर्न सकेमात्र समाजवादको पालना हुने उनको धारणा थियो ।
उनले अगाडि भनिन, ‘हिजोआज महिलाहरुले अझै पनि समाजवादमा मेरो सम्मान हुनुपर्छ भनेर प्रश्न गर्नुपर्ने अवस्था छ । यस्तो हुनुहुँदैन । वीपीको सपना साकार पार्न हरेक जनताले समान अधिकार पाउनैपर्छ । यसका लागि हामी सबै लडनुपर्ने वा जुट्नुपर्ने अवस्था छ ।’
कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, महामन्त्री गगन थापालगायतले आजको सन्दर्भमा वीपी कोइरालाको विचारको समिक्षा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया