काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा प्रजातन्त्र कमजोर भयो भने तानासाही प्रवृत्ति हाबी हुने बताएका छन् । प्रजातान्त्रिक समाजवाद नहुँदा तानासाहहरु जन्मिने उनको भनाइ थियो ।
मंगलबार नेपाली कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागले आयोजना गरेको ‘वीपीको समाजवाद आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले प्रजातन्त्रसहितको समाजवाद आजको आवश्यकता भएको औँल्याए ।
‘प्रजातन्त्र कमजोर भयो भने त्यो तानासाहीवाद हुन्छ । प्रजातन्त्रलाई जोड्ने भनेको समाजवादले हो । त्यस कारण आजको सन्दर्भमा वीपी कोइरालाको समाजवादको सान्दर्भिकता छ,’उनले भने ।
सभापति देउवाले वीपी कोइरालाले योगदानको चर्चा गर्दै सर्वज्ञानी र समय अनुसार परिवर्तन हुनसक्ने नेताका रुपमा चित्रण गरे ।
‘नेपालमा उहाँ जस्तो साहित्यकार पाउनै गाह्रो छ, उहाँको बारेका व्यापक अध्ययन हुन आवश्यक छ । उहाँले छोडेर जानु भएको प्रजातान्त्रिक पद्धति र समाजवाद लगायतका धेरै कुराहरुलाई अध्ययन गरेर भोलिका दिनमा कांग्रेसलाई वीपीको विचारको आधारमा अगाडि बढाउनुपर्छ,’ उनले भने ।
कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापा, नेपाली कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागकी प्रमुख डा. डिला संग्रौलालगायतले वीपीको विचार र आजको सन्दर्भमाथि धारणा राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया