मर्मतपछि निगमको एउटा वाइडबडी बुधवार काठमाडौं आउँदै, बिहीबारदेखि नियमित उडान हुने

लोकपथ
693
Shares

काठमाडौैं । नेपाल वायुसेवा निगमको एउटा वाइडबडी विमान बुधवार बिहान काठमाडौं आइपुग्ने भएको छ । गत असारमा सी चेकका लागि इटाली लगिएको विमान मर्मत सकिएपछि बुधवार नेपाल आउन लागेको हो ।

नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार नेपाली समय अनुसार मङ्गलवार साँझ पौने ८ बजे एन– एएलवाई ए३३० वाइडबडी विमान बुधवार बिहान सवा ६ बजे काठमाडौं आइपुग्ने गरी तालिका बनेको छ । बुधवार बिहान नेपाल आएपछि बिहीबारबाट उक्त विमानले नियमित उडान भर्ने प्रवक्ता पौडेलले लोकपथलाई बताए ।

राष्ट्रिय ध्वजावाहक समेत रहेको नेपाल वायुसेवा निगमको एन– एएलवाई कलसाइल भएको ए३३० विमान गत असार ८ गते थ्री सी चेकका लागि दुबई हुँदै इटाली गएको थियो । एक महिनामा बनाइसक्ने भनिए पनि केही महत्त्वपूर्ण पार्टपुर्जा फेर्नुपर्ने भएको र समयमै सामान उपलब्ध नहुँदा ढिलाइ भएको निगमले जनाएको छ । मर्मत पूरा भएपछि काठमाडौं आउनका लागि उडान अनुमति पाइसकेको छ ।

नेपाल वायुसेवा निगमसँग रहेका चार वटा विमानमध्ये दुई वटा वाइडबडी विमान एक महिनाको फरकमा मर्मतका लागि इटाली पुगेको थियो । बाँकी दुई वटा न्यारोबडी विमानले भने उडान भरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?