निगमको दुबई स्टेसनबाट ह्याकरले लगेको २ करोड रकम फिर्ता नआए कर्मचारीबाटै असुल गरिने

लोकपथ
819
Shares
symbolic picture generated from artificial intelligence

काठमाडौं । नेपाल वायुसेवा निगमको दुबईस्थित स्टेसनबाट गत वर्ष ह्याकरले लगेको करिब २ करोड रुपैयाँ फिर्ता ल्याउन नसके सम्बन्धित कर्मचारीबाटै असुल गरिने भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बुझाएको स्पष्टीकरणमा ह्याकरबाट फिर्ता ल्याउन नसके कर्मचारीबाटै असुल गरिने विषय उल्लेख गरेका हुन् ।

गत वर्ष युएईको दुबई स्टेसनबाट ह्याकरले इमेल फिसिङ गरी नेपा वायुसेवा निगमको करिब २ करोड रुपैयाँ लैजान सफल भएको थियो । निगमले दुबई स्टेसनलाई क्याटेरिङ सेवा दिइरहेको इमिरेट फ्लाइट क्याटेरिङ कम्पनीलाई दिनुपर्ने भुक्तानी उक्त कम्पनीले नपाई ह्याकरले लगेको थियो । फिसिङ इमेल एड्रेसबाट आएको इमेलकै आधारमा दुबई स्टेसनका कन्ट्री म्यानेजर अस्मिता सुवेदीले ह्याकरको बैंक खातामा करिब २ करोड रुपैयाँ ट्रान्सफर गरिदिएकी थिइन् ।

तर पछि क्याटेरिङ सेवा दिने कम्पनीले रकम नआएको भन्दै भुक्तानीका लागि ताकेता गरेपछि मात्रै ह्याकरले रकम लगेको खुलेको थियो । त्यसपछि भएको प्रारम्भिक छानबिनमा कैफियत देखिए लगत्तै कन्ट्री म्यानेजर अस्मिता सुवेदीलाई केन्द्रीय कार्यालयमा फिर्ता बोलाएर छानबिन गरिएको थियो ।

दुबई प्रहरीको सहयोगमा भएको छानबिनमा ह्याकरले फिसिङ एड्रेसबाट इमेल पठाएर क्याटेरिङको रकम माग गरेको थियो । कन्ट्री म्यानेजर सुवेदीले इमेल एड्रेस र बैंक खाता नै नहेरी क्याटेरिङ कम्पनीको भुक्तानी भन्दै ह्याकरको खातामा रकम ट्रान्सफर गरिदिएकी थिइन् । त्यस विषयमा अहिले पनि दुबई प्रहरीले छानबिन गरिरहेको छ भने शङ्कित ह्याकरलाई दुबईबाहिर जान नपाउने गरी रोक लगाइएको दाबी गरिएको छ ।

symbolic picture generated from artificial intelligence

सोही विषय समेत समावेश गरेर पर्यटन मन्त्री बद्री पाण्डेले भदौ १२ गते नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग ११ बुँदे स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणको जवाफमा अध्यक्ष अधिकारीले गत वर्ष दुबई स्टेसनबाट ह्याकरले लगेको २ करोड रुपैयाँ ह्याकरबाट फिर्ता ल्याउन नसके सम्बन्धित कर्मचारीबाटै असुल गरिने स्पष्ट पारेका हुन् ।

सम्बन्धित अपराधीबाट सो रकम असुल उपर गर्ने र सो नभएमा दुबईस्थित कार्यालयमा तत्कालीन अवस्थामा जिम्मेवारी लिएर बसेका कर्मचारीहरूलाई नियमानुसार असुल उपरको कारबाही पनि हुने

स्पष्टीकरणको जवाफको बुँदा नम्बर ७ मा कार्यकारी अध्यक्ष अधिकारीले यस्तो उल्लेख गरेका छन् ।
‘निगमले दुबई स्टेसनलाई क्याटेरिङ सर्भिस दिइरहेको इमिरेट फ्लाइट क्याटेरिङ कम्पनीलाई दिनुपर्ने भुक्तानी अन्यत्र भएको सम्बन्धमा निगम व्यवस्थापनलाई जानकारी भएपश्चात् निगम व्यवस्थापनले मिति २०८०।०५।१७ मा ‘investigate suspicious bank transfer of Dubai station’ छानबिन समिति तत्कालीन नायब महाप्रबन्धक (प्र.) जनकराज कालाखेतीको संयोजकत्वमा गठन भई २०८०।०८।०७ मा प्रतिवेदन पेस गरेको थियो । उक्त प्रतिवेदन प्राप्त भएपश्चात् २०८०।०८।१७ मा निगमको पोस्टिङ कमिटीको निर्णय अनुसार तत्कालीन कन्ट्री म्यानेजर अस्मिता सुवेदीलाई केन्द्रीय कार्यालयमा फिर्ता बोलाइएको छ । निगमले यसको अनुसन्धान गर्न दुबईमा पनि कानुन व्यवसायी राखी प्रहरीमार्फत छानबिन प्रक्रिया अगाडि बढाएको र त्यहाँको प्रहरीबाट अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको छ । यस सम्बन्धमा निगम व्यवस्थापनले सकेसम्म कानुनसम्मत ढङ्गले दुबई प्रहरीको अन्तिम प्रतिवेदन प्राप्त हुनुअघि वा भएपछि सोही अनुसार सम्बन्धित अपराधीबाट सो रकम असुल उपर गर्ने र सो नभएमा दुबईस्थित कार्यालयमा तत्कालीन अवस्थामा जिम्मेवारी लिएर बसेका कर्मचारीहरूलाई नियमानुसार असुल उपरको कारबाही पनि हुने ब्यहोरा अनुरोध छ । यस सम्बन्धमा दुबई स्टेसन तथा सम्बन्धित विभागहरूबाट प्राप्त भएको जानकारी अनुसार Suspected Criminal Hacker लाई दुबई छोडेर बाहिर जान नसक्ने गरी त्यहाँको प्रहरीले नोटिस जारी गरिसकेको ब्यहोरा पनि जानकारीको लागि अनुरोध छ । प्रस्तुत मुद्दा दुबई प्रहरीमा विचाराधीन अवस्थामा रहेको छ । यस सम्बन्धी निगम व्यवस्थापनले छानबिन समिति गठन गरी छानबिन गरेका विषयका कागजातहरू सहितको विस्तृत विवरण यसैसाथ अनुसूची १० संलग्न गरिएको छ ।’

यसरी गत वर्ष युएईको दुबईस्थित स्टेसनबाट ह्याकरले इमेल फिसिङ गरी लगेको करिब २ करोड रुपैयाँ ह्याकरबाट फिर्ता ल्याउन नसके रकम पठाउने कार्यमा संलग्न कर्मचारीहरूबाटै असुल उपर गर्ने तयारी भएको पाइएको हो ।

तत्कालीन समयमा दुबई स्टेसनमा कन्ट्री म्यानेजर रहेकी अस्मिता सुवेदीलाई कारबाहीस्वरूप केन्द्रीय कार्यालयमा तानिएको छ भने अन्य कर्मचारीहरूको पनि सरुवा गरिएको बुझिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग गत भदौ १२ गते एक साताको समय दिई ११ बुँदे स्पष्टीकरण सोधेकामा अधिकारीले भदौ १९ गते नै २९ पृष्ठ लामो स्पष्टीकरणको जवाफ र करिब १ हजार १ सय पानाको अन्य कागजपत्र पेस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?