के हो एन्जाइटी ? किन हुन्छ ? यसरी निको बनाउन सकिन्छ

लोकपथ
1.6k
Shares

एन्जाइटी मानिसमा हुने अन्तरनिहित गुण हो । एन्जाइटी अर्थात् डर हुनु हरेक मानिसका लागि सामान्य गुण हो । तर निरन्तर त्यसले ट्रिगर गर्न थालेमा समस्या निम्तिने गर्दछ ।

यो वंशाणुगत र पारिस्थितिक कारणले मानिसमा देखिने गर्दछ । जब मानिसमा साना साना कुराले मनमा दुस्चिन्ताको भावना देखा पर्दछ त्यसलाई बेलैमा सचेतता अपनाउनुपर्दछ । पछिल्लो समय मानिसहरुमा एन्जाइटीको समस्या बढ्दो छ । विश्व स्वास्थ्य संगठनले यसलाई रोगको मान्यता दिएको छैन । तर हामीहरु त्यसलाई रोगको रुपमा लिन्छौँ, तर यो भनेको मस्तिष्कको रसायनमा हुने गडबडीले निम्तिने मानसिक बिचलन मात्रै हो । हरेक मानिसलाई एकै कारण र एकै प्रकारका मात्रै एन्जाइटी हुँदैन । विभिन्न कारण र विभिन्न प्रकारमा एन्जाइटी हुने भए पनि त्यसको मुख्य समस्या भनेको डर हो । तर यो समाधान गर्न सकिने सामान्य मनोविचलन हो । धेरै मानिसहरुले त्यसलाई समयमा नै बुझ्न नसक्दा यसले विकराल रुप लिने गर्दछ । नेपाली समाजमा ड्रिपेशनको सुरुवाती चरणको रुपमा एन्जाइटीलाई लिने गर्दछन्, तर मनोचिकित्सकहरुले भने डिप्रेसन र एन्जाइटीमा धेरै फरक रहेको बताउँछन् ।

निरन्तर मनमा उदासीपन हुनु, शरिर कमजोर महसुस हुनु, चिडचिडाहट हुनु, स्थिर बस्न नसक्नु, मनमा एउटै र अनेकन कुराहरु बारम्बार खेल्नु, प्रेसर लो भएको महसुस हुनु, आत्मविश्वास हराउनु, शंकाको भावना हुनु लगायतका कुराहरु मानिसमा देखिनु एन्जाइटीका प्रारम्भिक लक्षण हुन् । कुनै घटना वा दुर्घटना हुँदा मानिसमा माथि उल्लेखित विचलनहरु देखा पर्नु सामान्य नै मानिन्छ । तर त्यसले निरन्तरता पायो भने बल्ल एन्जाइटीको सुरुवात हुने मनोचिकित्सकहरु बताउँछन् । एउटै विषयले २ हप्ता वा सो भन्दा बढी समय प्रभावित पार्दछ भने त्यसलाई एन्जाइटीको लक्षणका रुपमा बुझ्नुपर्दछ । साथै एकपटक कुनै कुराको डर वा एन्जाइटी हुनुलाई सामान्य रुपमा लिने गरिन्छ तर बारम्बार सोही कुरा दोहोरिएमा त्यसलाई एन्जाइटी डिसअर्डरको रुपमा बुझ्न सकिन्छ । एन्जाइटी भएका मानिसहरुलाई शारिरीक देखि भावनात्मक समेतका असरहरु पारिरहेको हुन्छ ।

यस्ता छन् एन्जाइटीका प्रकार :

१. जनरल एन्जाइटी डिसअर्डर : जनरल एन्जाइटी डिसअर्डर (जीएडी) यो एन्जाइटीको एक प्रकार हो । यदी मानिसलाई स–साना कुराले चिन्ता दिइराख्छ र हरेक कुराले मनमस्तिष्कमा ट्रिगर गरिरहन्छ भने त्यसलाई जीएडीको रुपमा बुझ्न सकिन्छ । यस्तो भएमा शरिरमा चिडचिडाहट हुने, बढी शंका लाग्ने, खान मन नलाग्ने, नकारात्मक कुराहरु मनमा खेलिरहने आदी हुने गर्दछ ।

२. पेनिक एन्जाइटी डिसअर्डर : यो यस्तो अवस्था हो जसले मानिसलाई निरन्तर मुटु ढुकढुक हुने र पेनको महसुस हुने गर्दछ । त्यही पेनकै कारण मरिन्छ कि, बौलाहिन्छ कि, लढिन्छ कि, म कुनै काम गर्न सक्दिन कि भन्ने आदी कमजोर भावनाहरु मनमा आइरहन्छ । कुनै घटना वा दुर्घटनाले मानिसलाई पेनिक अट्याक हुने गर्दछ । तर बारम्बार त्यसैगरी मनमा दुखाइको महसुस भएमा त्यसलाई पेनिक डिअसर्डर भन्ने गरिन्छ । यस्तो अवस्थामा मनलाई शान्त पारेर बस्नु नै उचित विकल्प हुन्छ । साथै आफूलाई स्थिर बनाउनु नै त्यसको मुख्य उपचार हो, यदी धेरै नै पेनिक भएमा मनोचिकित्सकको सल्लाह लिनुपर्दछ ।

३. एगोरोफोबिया : एगोरोफोबिया भएमा भिडभाड वा चाडैँ बाहिर निस्किन नमिल्ने ठाउँमा मन बिचलित हुने गर्दछ । त्यसले गर्दा मानिसलाई पेनिक अट्याक समेत हुने गर्दछ ।

४. सोसियल एन्जाइटी डिसअर्डर : यस प्रकारको एन्जाइटी प्राय मानिसहरुमा हुने गर्दछ । समाजमा घुलमिल हुन नसक्ने अवस्था यानेकी भिडभाडमा डराउने, कसैसँग बोल्दा डरको भावना आउने, अरुसँग बोल्दा कुनै कुरा बिर्गाछुकी भन्ने लगायतका बिकारयुक्त गुणहरु देखा परेमा सोसियल एन्जाइटी डिसअर्डर हुने गर्दछ ।

एन्जाइटीका प्रकार यी मात्रै हुँदैनन् । यी र यस्तै विभिन्न प्रकार हुन्छन् । तर त्यसको आम बुझाइ र समस्या भनेको हरेक कुरामा अनावश्यक डर पैदा हुनु हो । त्यसले हाम्रो दैनिकी मात्रै होइन भविष्यलाई समेत क्षतविक्षत बनाउने गर्दछ । त्यसैले बेलैमा सचेत रहनुपर्दछ ।

हाम्रो आम बुझाइ भने एकपटक एन्जाइटी भएपछि त्यो कहिल्यै पनि निको हुँदैन भन्ने छ । तर त्यो गलत हो । मनोचिकित्सकको परामर्श र औषधीको सेवनबाट सजिलै एन्जाइटी निको पार्न सकिन्छ । यो धेरैजसो व्यक्तिहरुले आफ्नो भावना नियन्त्रण गर्न नसकेका कारण देखिने असर हो । त्यसकारण आफैँले पनि आफ्ना बानी व्यवहारहरुलाई परिवर्तन गरेर निको बनाउन सकिन्छ ।

एन्जाइटीको उपचारका लागि मुख्य दुई विधिहरु रहेका छन् । एउटा साइकोथेरापी (मनोवैज्ञानिक उपचार पद्धति) र अर्को फर्माको थेरापी अर्थात् औषधि उपचार । यसको अलवा सचेत व्यक्तिले कुनै औषधी प्रयोग नगरी वा मनोचिकित्सकको परामर्श नलिइकन आफ्ना व्यवहारहरु परिवर्तन गरेर पनि निको बनाउन सकिन्छ ।

आफ्नै प्रयासले एन्जाइटी निको बनाउन के गर्ने ?

जटिल खालका एन्जाइटी निको बनाउन मनोचिकित्सकहरुको परामर्श र औषधी वा दुवैको महत्वपूर्ण भूमिका हुन्छ । चिकित्सक र औषधिले केही सहज बनाए पनि आफ्नो भावना नियन्त्रण गर्नेदेखि व्यवहार परिवर्तनसम्म भन्ने आफैँले गर्नुपर्दछ । त्यसका लागि आफ्नो लागि आफैँ काउन्सिलर बन्न मनोविदहरुको सुझाव छ । सबैभन्दा पहिला आफूमा आएका नकारात्मक भावनालाई सहज रुपमा लिने गर्नुपर्दछ । शंका गर्ने, लागुऔषधदेखि धुमपान र मध्यपानको लत त्याग्नुपर्दछ ।

सामाजिक सञ्जालमा धेरै समय नबिताउने त्यसको अलवा कुनै रचनात्मक काममा लगाउनुपर्दछ । जुन कुराले आफूलाई बढी ट्रिगर गर्दछ त्यसलाई सहज रुपमा लिँदै मनमा त्यो भावनाको सट्टा अन्य सकारात्मक भावना खेलाउने गर्नुपर्दछ । साथै स–साना कुरामा तनाव लिने, म केही गर्न सक्दिन्, म बाट सम्भव छैन भन्ने लगायतका हिन भावनाहरु त्यागेर विस्तारै मनमा नयाँ र सकारात्मक धारणाको विकास गर्नुपर्दछ । सधैँ मनलाई सकारात्मक बाटो र हरेक कुरामा प्रयास जारी राख्ने बानी बनाउनुपर्दछ । मनोचिकित्सकहरुले छिटो एन्जाइटी निको बनाउने नाममा त्यो थप बल्झिने गरेको बताउँछन् । त्यसकारण यसलाई विस्तारै आफ्ना धारणा र व्यवहार परिवर्तन गर्र्दै भएका कुरामा खुसी हुने र हुन नसकेका कुरामा पुनः प्रयास गर्दै अघि बढ्दा एन्जाइटी निको बनाउन सकिन्छ । साथै बिचलित मनलाई नियन्त्रण गर्न योग, ध्यान, व्यायाम गर्ने गर्नुपर्दछ । तर यदी लामो समयदेखि नै एन्जाइटीका सिकार भएका व्यक्तिहरुले भने मनोचिकित्सककोमा परामर्श लिइहाल्नुपर्दछ ।

मनोचिकित्सकहरुले मनबाट उत्पन्न भावनाबाट मनमा देखिएको बिचलन नियन्त्रण मनबाटै गर्न सकिने सुझाव दिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?