राष्ट्रिय प्रत्यारोपण केन्द्र परिसरमा विरोध प्रदर्शन बुधबार पनि जारी

लोकपथ
0
Shares

भक्तपुर । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले आन्दोलनलाई निरन्तरता दिएका छन् । एक सातादेखि प्रदर्शनमा उत्रिएका उनीहरुले बुधबार पनि अस्पताल गेट अगाडि प्रदर्शन गरेका छन् ।

भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र व्यथिति तत्काल अन्त्य गर्न माग गरिएको छ ।

गत बुधबारदेखि गेट अगाडि कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका स्थानीयले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पुगेर ध्यानाकर्षण पत्र बुझाइसकेका छन् । बुधवार यता उनीहरुले दिनहुँ प्रदर्शन गर्दै आइरहेका हुन् । 

आन्दोलनकारीहरुले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर, गैर कानुनी तरिकाले बर्खास्त चिकित्सकहरुलाई अविलम्ब पुनःबहाली गर, मुटु, कलेजो, मृर्गौला फोक्सो तथा नशा सेवाहरुलाई तुरुन्तै सुचारु गरी व्यवस्थित गर, सबै प्रकारका अस्पतालभित्र हुने सामाजिक उत्पीडन बन्द गर, कर्मचारीहरूको रोकिएको तलब सुविधा तुरुन्तै भुक्तानी गरलगायतको ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।

त्यस्तै, तेस्रो कार्यकालका लागि कार्यकारी निर्देशकमा नियुक्त भएका डा.पुकारचन्द्र श्रेष्ठको नियुक्ति, कार्यशैली र गतिविधिमाथि पनि स्थानीयले आशंका व्यक्त गर्दै आइरहेका छन् ।

६० वर्ष उमेर हद नाघिसक्दा पनि मानव अंग प्रत्यारोपण विकास समिति (गठन) आदेश संशोधन गरी केन्द्रको कार्यकारी निर्देशक नियुक्त भएका डा.श्रेष्ठको कार्यशैलीविरुद्ध स्थानीयले यसअघि पनि आन्दोलन गर्दै आएका थिए ।

कार्यकारी निर्देशकको ६० वर्ष उमेर हदलाई दोस्रो संशोधनमार्फत संशोधन गर्दै चार वर्षका लागि नियुक्ति हुँदा उमेर हद नलाग्ने व्यवस्था गरिएपछि अस्पतालमा कार्यरत चिकित्सकहरूको वृत्ति विकासमा असर परेको भन्दै असन्तुष्टि पनि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?