काठमाडौंं । प्रहरीले ठगी अभियोगमा कलाकार शंकर (इकु) भनिने सूर्यमान शंकरलाई पक्राउ गरेको छ । कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको अभियोगमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।
विदेशमा हुने सांस्कृतिक कार्यक्रमहरुमा गैरकलाकारलाई कलाकार बनाएर क्यानडा, अष्ट्रेलिया तथा युरोपका अन्य देशहरुमा लैजाने भन्दै ठगी गरेको पाइएपछि पक्राउ गरिएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए । ललितपुरको धापाखेल घर भएका ४० वर्षीय इकुले एसएमएस फिल्म प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रकम जम्मा गर्न लगाएको पाइएको सीआईबीले जनाएको छ ।
साथै, खातामा रकम जम्मा गर्ने व्यक्तिहरूको कलाकार भिसामा विदेशी मुलुकमा भिसा प्रयोजनको लागि आवश्यक पर्ने बैंक स्टेटमेन्टलगायतका कागजातहरू समेत नक्कली बनाउने गरेका थिए । रकम जम्मा गर्ने पीडितहरूले भिसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयारी हुँदैछ, तयारी भएपछि खबर गर्छु भनी पीडितहरूलाई लामो समयसम्म झुलाई अन्तमा पीडितहरूको सम्पर्कबाट बाहिर रही ठगी गरेको प्रहरीको आरोप छ ।
इकुविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको एसबी बोगटीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया