वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ

लोकपथ
63
Shares

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा, अष्ट्रेलिया, दुबई, क्रोएसिया, जापान लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने ४८ वर्षीय श्याम श्रेष्ठ, पर्सा ठोरी नगरपालिका–१ नयाँगाउँ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका–९ स्युचाटार बस्ने ४० वर्षीया शोभा तामाङ र तनहुँ बन्दिपुर गाउँपालिका–७ घर भई हाल तारकेश्वर नगरपालिका–७ मनमैजु बस्ने ३९ वर्षीय अमृत माकिम थापा रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले श्यामलाई काठमाडौंको थानकोटबाट, शोभालाई स्युचाटारबाट र अमृतलाई टेकुबाट पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये श्यामले ३ जना पीडितबाट ६ लाख ५५ हजार रूपैयाँ, शोभाले ३ जना पीडितबाट ६ लाख १५ हजार रूपैयाँ र अमृतले १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको प्रहरीले बताएको छ ।

पक्राउ पश्चात उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?