खर्च बढी देखाएर २९ लाखमा किनेको कार ६८ लाखमा बेच्छ बीवाईडी

राजश्व छली गर्न मोटरको क्षमतासमेत घटाइएको भन्दै छानबिन जारी

काठमाडौं । हालसम्म पनि अस्तित्वमै रहेको कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ मा वस्तु वा सेवा बिक्री गर्दा अधिकतम २० प्रतिशतभन्दा बढी नाफा खान नपाइने व्यवस्था छ । यस ऐनको पछिल्लो संशोधन २०७५ फागुन १९ मा भएको थियो जहाँ पनि व्यापारीहरूले आफ्नो व्यापारमा २० प्रतिशतभन्दा बढी नाफा राख्न नपाउने कानुनी व्यवस्था कायम नै छ ।

कानुनमा नाफाको गणना गर्दा आफ्नो लागेको खर्चसमेत देखाउन पाउने व्यवस्था छ । सबै खर्च कटाएर अधिकतम बढीमा २० प्रतिशतसम्म नाफा खान पाउने व्यवस्था गरिएको हो ।

तर नेपालमा सवारीसाधन आयातकर्ताहरूले विभिन्न अस्वाभाविक खर्चहरू देखाएर धेरै नाफा खाने गरेकोसमेत पाइएको छ । नेपालमा आयात हुने सवारीसाधनमा भन्सार विन्दुमा सबै खर्च जोडेर हुने खर्चमा झन्डै ४० प्रतिशत रकम थप गरी सवारीसाधन बिक्री गर्ने गरेको पाइएको हो ।

४८ लाखमा सबै शुल्क तिरेर भन्सार पास भएको कार ६८ लाखमा बिक्री !
चिनियाँ इलेक्ट्रिक कार बीवाईडीको नेपालको आधिकारिक बिक्रेता हो, साइमेक्स इंक । गत आर्थिक वर्षमा मात्रै ४ हजार ५ सय थान बीवाईडीको कार बेचेको साइमेक्स इंकले आफ्नो कार बिक्री गर्दा अस्वाभाविक खर्च देखाएर बढी नाफा खाएको पाइएको छ ।

लोकपथ डटकमलाई प्राप्त कागजातअनुसार बीवाईडीले भन्सार विन्दुबाट पास हुँदासम्म लागेको कुल खर्चमा अन्य विभिन्न शीर्षक राखेर अस्वाभाविक खर्च देखाएर बिक्री वितरण गर्ने गरेको पाइएको हो ।

लोकपथलाई प्राप्त भएको बीवाईडीको कारहरूको खरिद मूल्य, भन्सारमा लाग्ने शुल्क तथा खर्चहरूको विवरण र बिक्री मूल्य हेर्दा अस्वाभाविक खर्च देखाएर बढी नाफा खाएको पाइएको हो ।

बीवाईडी सुपेरियर अट्टो थ्री कारमा सबै खर्च जोडेर भन्सारबाट पास भएको मूल्यमा १९ लाख रुपैयाँ बढी लिएर बिक्री गरेको पाइएको छ ।

प्राप्त कागजातअनुसार अहिले नेपालमा बढी बिक्री भएको बीवाईडी सुपेरियर अट्टो थ्री कारमा सबै खर्च जोडेर भन्सारबाट पास भएको मूल्यमा १९ लाख रुपैयाँ बढी लिएर बिक्री गरेको पाइएको छ । भन्सार कार्यालयबाट सबै खर्च जोडेर डिलरको गोदाममा आइपुग्दा कुल ४८ लाख ४६ हजार २७१ रुपैयाँ लागेको बीवाईडीको सुपेरियर अट्टो कार बजारमा भने ६७ लाख ५० हजार रुपैयाँमा बिक्री भइरहेको छ ।

लोकपथलाई प्राप्त भएकोमध्ये बीवाईडीको अट्टो थ्री कार चीनमा १ लाख ५० हजार चिनियाँ युआन अर्थात् त्यसको सटही दर १८ रुपैयाँ ७४ पैसा राख्दा कुल २८ लाख ११ हजार रुपैयाँमा खरिद गरेको पाइएको छ । उक्त रकममा केरुङ नाकासम्मको ढुवानी भाडा भनेर नै १ लाख ४१ हजार ७५० नेपाली रुपैयाँ राखिएको छ । जबकि अन्य कम्पनीहरूले यस्तो कार केरुङ नाकासम्म ल्याउन करिब ६५ हजार नेपाली रुपैयाँको खर्च देखाएका छन् । त्यसै गरी नाकासम्म ल्याउनका लागि ६ हजार ७३४ रुपैयाँको इन्सुरेन्स गरेर ल्याउँदा नेपालको भन्सार कार्यालयसम्म आइपुग्दा त्यसको खर्च २९ लाख ५९ हजार ४८४ रुपैयाँ ५५ पैसा भएको छ ।

नेपालको भन्सार कार्यालयसम्म आइपुग्दा त्यसको खर्च २९ लाख ५९ हजार ४८४ रुपैयाँ ५५ पैसा भएको छ ।

नेपालमा करिब १९ लाख रुपैयाँको कर
भन्सार कार्यालयमा २९ लाख ५९ हजार रुपैयाँमा आइपुगेको बीवाईडीको सुपेरियर अट्टो कार भन्सार महसुलका रूपमा भन्सारसम्म आइपुग्दा लागेको मूल्यमा २० प्रतिशत लिने गरिएको छ । जसका कारण बीवाईडीको अट्टो थ्री कारका लागि ५ लाख ९१ हजार ८९६ रुपैयाँ ९१ पैसा भन्सार महसुल तिरिएको छ । भन्सार महसुल जोडेर हुन आउने मूल्य ३५ लाख ५१ हजार ३८१ रुपैयाँ ४६ पैसा पुग्छ ।

भन्सार महसुल जोडेपछि हुन आउने उक्त मूल्यमा १५ प्रतिशतका दरले अन्तःशुल्क लाग्छ । बीवाईडीको सुपेरियर अट्टो थ्री कार एक सय वाटको दाबी गरिएको कारण त्यसमा १५ प्रतिशत अन्तःशुल्क लिने गरिन्छ । यसरी १५ प्रतिशत अन्तःशुल्क जोड्दा अन्तःशुल्क बापत उक्त कारका लागि ५ लाख ३२ हजार ७०७ रुपैयाँ २२ पैसा तिर्नुपर्छ । अन्तःशुल्क जोडेपछि उक्त कारको मूल्य ४० लाख ८४ हजार ८८ रुपैयाँ ६८ पैसा पुगेको छ ।

अन्तःशुल्क जोडेपछि हुन आउने मूल्यमा १३ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर अर्थात् भ्याट तिर्नुपर्छ । भ्याटबापतको कुल ५ लाख ३० हजार ९३१ रुपैयाँ ५३ पैसा तिरेपछि उक्त कारको मूल्य ४६ लाख १५ हजार २० रुपैयाँ २१ पैसा पुगेको छ ।

भन्सार जाँच पास गर्दा बीवाईडीको अट्टो थ्री कारको मूल्य ४८ लाख ४६ हजार २७१ रुपैयाँ २२ पैसा पुगेको छ ।

अनि त्यसपछि आउँछ सडक दस्तुर अर्थात् रोड ट्याक्स । कारका लागि राज्यले मूल्यको ५ प्रतिशत रोड ट्याक्स लिने गरेको छ । बीवाईडीको अट्टो थ्री कारले रोक ट्याक्सबापत कुल २ लाख ३० हजार ७५१ रुपैयाँ १ पैसा तिर्नुपर्ने हुन्छ । त्यसबाहेक भन्सारमा कागजातको शुल्क ५ सय रुपैयाँसमेत थप गरेर तिर्दा भन्सार जाँच पास गर्दा बीवाईडीको अट्टो थ्री कारको मूल्य ४८ लाख ४६ हजार २७१ रुपैयाँ २२ पैसा पुगेको छ ।

… अनि देखाइन्छ अस्वाभाविक खर्च
यहाँसम्मको खर्च त त्यति अस्वाभाविक देखिएको छैन । तर जब भन्सार कार्यालयबाट गाडी जाँच पास भएर निस्कन्छ, त्यसपछि देखाइन्छ अस्वाभाविक खर्चहरू ।

रसुवागढी भन्सार कार्यालयबाट काठमाडौं वा अन्य गोदामसम्म कार ल्याउँदा लोकल ढुवानी भाडाका रूपमा प्रतिगाडी ३० हजार रुपैयाँ जोडिएको छ । त्यसै गरी गोदामसम्म ल्याउन इन्सुरेन्स गर्दा प्रतिगाडी ११ हजार २६७ रुपैयाँ ८० पैसा लाग्ने गरेको दाबी गरिएको छ । त्यस्तै बैंकको शुल्कबापत ५ सय रुपैयाँ, स्विफ्ट चार्जबापत ३ सय रुपैयाँ, बैंकमा एलसी खोल्दा बैंकलाई तिर्नुपर्ने कमिसनबापत प्रतिगाडी १३ हजार २२० रुपैयाँ ६० पैसा राखिएको छ । जबकि एक पटक गाडी ल्याउँदा एउटा मात्रै गाडी ल्याइँदैन र धेरै गाडीको एलसी खोलेर ल्याउँदा प्रतिगाडी शुल्कमा फरक पर्ने भए पनि बीवाईडीले एउटै मूल्य देखाएको छ । त्यसबाहेक सवारीसाधन दर्ता र करबापत २० हजार रुपैयाँ जोडेर खर्च निकालिएको छ ।

चार्जर र तारको शुल्क छुट्टै जोडेर खर्च देखाइन्छ
इलेक्ट्रिक गाडी किन्दा त्यसमा लाग्ने चार्जर र चार्जिङ केबल पनि सँगै आउँछ । अन्य कम्पनीका इलेक्ट्रिक कारले त्यसको छुट्टै खरिद वा शुल्क देखाएका छैनन् । तर बीवाईडीको अट्टो थ्री कार किन्दा भने चार्जर र भीटीवोएल केबलको शुल्कसमेत छुट्टै जोडेर खर्च देखाइएको छ । लोकपथलाई प्राप्त कागजातअनुसार बीवाईडीले चार्जर र भीटीवोएल केबलबापत थप १ लाख ३२ हजार रुपैयाँ खर्च देखाएर जोडेको छ ।

प्रशासनिक खर्च भनेरै बीवाईडीले ११ लाख रुपैयाँभन्दा बढी रकम छुट्टाएको छ भने आयातकर्ताको नाफा र डिलरको नाफासमेत जोड्दा करिब ६ लाख जोडेर नाफा तथा खर्च गरी करिब २० लाख रुपैयाँको फरक पारिएको छ ।

अस्वाभाविक ब्याज देखाएर खर्चमै जोडियो
बीवाईडीले आफ्नो नाफा कम देखाएर राज्यलाई कर तिर्नबाट पन्छिन अस्वाभाविक रुपमा ब्याजसमेत खर्चमा देखाएको छ । एलसी खोलेर नेपालको भन्सारसम्म गाडी आइपुग्न करिब १ महिना लाग्छ र कुनै कारणले ढिलाइ भएमा पनि बढीमा दुई महिनामा भन्सार कार्यालयमा आइपुग्छ ।

अहिलेको ब्याजदरको हिसाब गर्दा औसतमा १० प्रतिशत मात्रै ब्याज लाग्ने भए पनि करिब ३० लाख रुपैयाँमा भन्सारसम्म आइपुग्न लाग्ने समय २ महिना जोड्ने हो भने ३० लाखको १० प्रतिशतको दरले दुई महिनाको ब्याज मात्र ५० हजार रुपैयाँ हुन्छ । त्यसपछि भन्सार छुटाएर गोदाममा ल्याएर बिक्री गर्दा बढीमा १ महिना लाग्न सक्छ । यसरी हेर्दा भन्सार छुटाएर ल्याउँदा पुग्ने शुल्क अर्थात् ४८ लाख ४६ हजारको १० प्रतिशतले हुने रकम करिब ४० हजार रुपैयाँ हुँदा अधिकतम ९० हजार रुपैयाँ लाग्न सक्छ । केही समय थपिए पनि यो मूल्य करिब १ लाख रुपैयाँसम्म पुग्न सक्छ । तर बीवाईडीले ब्याज खर्च भनेर नै १ लाख ७१ हजार रुपैयाँ देखाएको छ । यसमा ग्राहकबाट बुकिङका क्रममा लिने रकमको ब्याज भने घटाएको छैन ।

अन्य प्रशासनिक खर्चमा ३ लाख ७५ हजार रुपैयाँ
बीवाईडीले छुट्टाछुट्टै खर्चको शीर्षक राखेर खर्च देखाएको भए पनि प्रशासनिक खर्चको नाममा नै थप ३ लाख ७५ हजार रुपैयाँ देखाएको छ । जबकि नामसारी, ब्याज, विज्ञापन, प्रि–डेलिभरी इन्सपेक्सन आदि सबै प्रशासनिक खर्च हुन् । तर बीवाईडीले छुट्टाछुट्टै शीर्षक राखेर पनि थप प्रशासनिक खर्च भनेर ३ लाख ७५ हजार देखाएको छ, जुन कम्पनीको नाफामा फरक पार्न देखाइएको खर्च हो ।

त्यसबाहेक बीवाईडीले डिलर मार्जिनका लागि भनेर ३ लाख ५० हजार रुपैयाँसम्म दिएको छ भने कम्पनी आफैँले नाफा शीर्षकमा २ लाख ३४ हजार छुट्टाएको छ ।

यसरी हेर्दा बीवाईडीको अट्टो थ्री कार नेपालको भन्सार कार्यालयबाट सबै राजश्व तिरेर निस्केको मूल्य ४८ लाख ४६ हजारमा १९ लाख रुपैयाँभन्दा बढी थप गरेर ६७ लाख ५० हजार रुपैयाँमा बिक्री गरिरहेको छ ।

बीवाईडीको अट्टो थ्री कार चीनबाट नेपालको भन्सार कार्यालयमा आइपुगेको मूल्यमा १२९ प्रतिशत बढी छ भने सबै भन्सार तिरेर भन्सार जाँच पास भएको मूल्यमा ४० प्रतिशत बढीको फरक छ । अर्थात् सबै भन्सार शुल्क, राजश्व, भ्याट जोडेर जाँच पास भएको मूल्यमै १९ लाख ३३ हजार ७२८ रुपैयाँको फरक परेको देखिन्छ ।

बीवाईडीमाथि राजश्व अनुसन्धानको छानबिन जारी
चिनियाँ इभी गाडीको कम्पनीको नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकमाथि यति बेला राजश्व अनुसन्धान विभागले छानबिन गरिरहेको छ । बढी क्षमताको मोटरलाई कम क्षमताको भनी कागजात तयार पारेर नेपाल भित्राएको र त्यसबापत कम कर तिरेको भन्दै बीवाईडीमाथि छानबिन भइरहेको हो । बीवाईडीको सुपेरियर अट्टो थ्री कारमा उत्पादक तथा वितरकले अन्य देशहरूमा बिक्री भएकामा १५० किलोवाट मोटर क्षमता रहेको उल्लेख छ । उक्त कारमा कहीँ पनि त्योभन्दा कम क्षमताको मोटर रहेको उल्लेख गरिएको छैन । इलेक्ट्रिक गाडीहरुको तथ्यांक राख्ने इभी डाटावेस डट ओआरजीले पनि बीवाईडीको अट्टो थ्री कारको मोटर क्षमता १५० किलोवाट नै रहेको उल्लेख छ ।

१५० किलोवाट क्षमताको गाडीलाई १ सय किलोवाट भनेर भन्सार जाँच पास गराउने हो भने करिब १५ प्रतिशत कम राजश्व तिरे पुग्छ ।

तर नेपालमा आयात भएको अट्टो थ्री कारमा भने १ सय किलोवाट क्षमताको मोटर रहेको दाबी गरिएको छ । १५० किलोवाट क्षमताको गाडीलाई १ सय किलोवाट भनेर भन्सार जाँच पास गराउने हो भने करिब १५ प्रतिशत कम राजश्व तिरे पुग्छ । यसरी हेर्दा बीवाईडीको अट्टो थ्री कारको मोटर क्षमता झोक्याएर भन्सार जाँच पास भएको भए भन्सारमा ३० लाखमा आइपुग्ने एउटै गाडीको भन्सारमा करिब ८ लाखको फरक पर्न सक्ने थियो । क्षमता कम गर्दा एउटै गाडीबाट राज्यलाई करिब ८ लाख रुपैयाँ राजश्व नोक्सानी भएको हो ।

राजश्व अनुसन्धान विभागले यस विषयमा बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकबाट कागजात नियन्त्रणमा लिई छानबिन गरिरहेको छ । मोटरको क्षमता ढाँटेको हो कि होइन भन्ने विषयमा भने अहिले अनुसन्धान भइरहेकाले अहिले नै केही भन्न नसकिने विभागले जनाएको छ ।

हामीले कालोबजारी गरेका छैनौँ, छानबिनमा सघाउँछौँ : बीवाईडी
अस्वाभाविक खर्च देखाएर धेरै नाफा राखेको गाडीसँगै आउनुपर्ने सामानमा पनि छुट्टै खर्च देखाएको सम्बन्धमा बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इंकले आफूहरूले कालोबजारी नगरेको दाबी गरेको छ ।

लोकपथसँग कुरा गर्दै बीवाईडीका सिइओ शाहिल श्रेष्ठले आफूहरूले समावेश खर्च अस्वाभाविक नभएको र राजश्व छली गर्ने कुनै नियत नभएको बताएका छन् । बीवाईडीको कार किन्दा त्यसमा लाग्ने चार्जर र केबल सँगै नआउने भन्दै उक्त सामानहरू आफूहरूले पनि किनेर उपभोक्तालाई दिने गरेको शाहिलले बताए । शाहिलले भने, ‘पहिले त त्यो चार्जर पनि बीवाईडीकै नभएर अन्य कम्पनीको किनेर दिनुपर्थ्यो । अहिले भने बीवाईडी आफैँले बनाउने गरेको छ र हामीले पनि एलसी नै खोलेर सामान ल्याउने र ग्राहकलाई दिने हो । चार्जर सँगै आउने भन्ने कुरा गलत हो । अरूको के हो, मलाई थाहा भएन, बीवाईडीको चार्जर र भीटीवोएल छुट्टै किन्नुपर्छ ।’

त्यसै गरी शाहिलले आफ्नो प्रशासनिक खर्चमा अस्वाभाविक खर्च नदेखाइएको र शोरुमको भाडा, शोरुमसम्म पुराउन लाग्ने खर्च, कर्मचारीको खर्च सबै समावेश हुँदा प्रशासनिक खर्च बढेको बताए । प्रशासनिक खर्चमै आउने अन्य शुल्कहरू छुट्टै राखेर फेरि प्रशासनिक खर्च किन देखाउनुभएको भन्ने लोकपथको प्रश्नमा शाहिलले भने, ‘त्यो खर्च बाहेक पनि शोरुमको भाडा, कर्मचारीको तलब भत्ता, शोरुमसम्म लैजान लाग्ने शुल्क आदि सबै जोड्नुपर्ने हुन्छ । त्यस कारण खर्च अस्वाभाविक छैन र हामीले सरकारले तोकेको २० प्रतिशतभन्दा बढी नाफा खाएका छैनौँ ।’

१५० किलोवाटको मोटरलाई एक सय वाटको भनेर अट्टो थ्री सुपेरियर कार बेचिएको सम्बन्धमा शाहिलले आफ्नो कारको क्षमता मापन गर्न आग्रह गरे । उनले भने, ‘हाम्रो गाडीको क्षमता जाँच गरियोस्, हामी सहयोगका लागि तयार छौँ । यही कार एक सय वाट क्षमतामा श्रीलङ्का र सिंगापुरमा समेत विक्री भइरहेको छ । त्यही कार नेपालमा पनि ल्याएका हौँ । नेपालमा ल्याएको गाडीको क्षमता एक सय किलोवाट नै हो, त्यसका लागि छानबिनमा सघाउन हामी तयार छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?