कांग्रेस नेताहरुले पढ्नै छाडे : डा. बाबुराम भट्टराई

लोकपथ
77
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पछिल्लो समय नेताहरुले पढ्न छाडेको टिप्पणी गरेका छन् ।

शनिबार मोहन तिम्सिनाको ‘जैविक दर्शन वैज्ञानिक क्रान्तिको दार्शनिक संश्लेषण’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

उनले पञ्चायत कालमा कांग्रेस र कम्युनिष्ट नेताहरु जेलमा रहँदा पनि अध्ययन गर्ने गरेको तर अहिले कम्युनिष्ट नेताहरुमा केही पठन संस्कृती रहे पनि कांग्रेस नेताहरुले पढ्न छाडेको टिप्पणी गरे ।

भट्टराईले भूमिगत कालमा पञ्चायतविरुद्ध लड्दा समेत अध्ययन गर्ने कांग्रेसले अहिले पढ्नै भुलेको आरोप लगाए ।

उनले भने, ‘अहिले मान्छेमा पढ्ने लेख्ने चलन पनि छैन । हिजोका हाम्रा साथीहरू त्यत्रो भूमिगत कालमा पञ्चायतविरुद्ध लड्दा कांग्रेस, कम्युनिस्ट सबै साथीहरू जेलमा पर्दा पनि सँगै अध्ययन गर्ने बानी थियो । पछि हामी जनयुद्धमा जाँदा पनि त्यत्रो मेहनत गरेर पढ्थ्यौँ । अहिले यता आइसकेपछि अब काँग्रेसका साथीहरुले त पढ्नै छोडिहाल्नु भयो । कम्युनिस्टहरू अलि बढी जो पढ्ने हो कम्युनिस्टहरू पनि अब कुनै खास फरक छैन । उहाँहरूले पनि पढाइलेखाइमा रुचि राख्नुहुन्न । हामीले अघि वैकल्पिक ढङ्गले जानुपर्छ, भन्नेहरू पनि अलिअलि मेहनत गर्न खोजेका छौँ तर हाम्रो पनि आरण्य रोदन जस्तो भइरहेको छ ।’

साथै उनले देशमा पठन संस्कृती लोप हुँदै गएको भन्दै चिन्ता पनि व्यक्त गरेका छन् । यस्तै, भट्टराईले आर्थिक वृद्धि, सामाजिक न्याय, दिगो प्रकृतिको संरक्षण र मान्छेमा खुसिपना आउनुपर्ने आयामसहितको विकास आवश्यक रहेको बताए ।

उनले लोकतन्त्र उन्नत हुँदै जाने प्रक्रिया भएकाले यसको विकास गर्दै अघि बढ्नुपर्ने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?