अस्पतालको शौचालयबाट फरार भए जबर्जस्ती करणी मुद्दाका कैदी

लोकपथ
182
Shares

झापा । जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी आज आइतबार अस्पतालको शौचालयबाट फरार भएका छन् ।

भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा उपचारका लागि लगिएका २४ वर्षीय जीवन साह आज बिहान ३ः४० बजे सोही अस्पतालको शौचालयबाट फरार भएको प्रहरीले जनाएको छ ।

भद्रपुर नगरपालिका–५ घर भएका साहलाई छातीमा समस्या भएपछि यही भदौ २५ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीको कमाण्डमा फरार कैदी साहको खोजी भइरहेको बताइएको छ ।

यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा हतकडी फुस्काइ फरार भएका थिए । फरार भएको चार दिनपछि भदौ ८ गते उनी बिर्तामोड बसपार्कबाट समातिएका थिए ।

फितलो सुरक्षा व्यवस्थापनको फाइदा उठाउँदै झापामा एकपछि अर्को यस्ता घटना घट्न थालेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?