नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालद्वारा राजीनामा दिने घोषणा

लोकपथ
147
Shares

काठमाडौं । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

भारतको सर्वोच्च अदालतको शुक्रबारको आदेशले तिहाड जेलबाट छुटेका मुख्यमन्त्री केजरीवालले अबको दुई दिनपछि पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । आज आइतबार आमआदमी पार्टीको केन्द्रीय कार्यालयमा नेताहरूलाई सम्बोधन गर्दै उनले राजीनामा गर्ने घोषणा गरेको भारतीय पत्रिका टाइम्स अफ इन्डियाले जनाएको छ ।

आफूले अग्निपरीक्षा गर्न चाहेको बताउँदै राजीनामा दिन लागेको उनको भनाइ छ । ‘म मुख्यमन्त्री पदबाट दुई दिनपछि राजीनामा दिँदैछु, जनताले आफ्नो निर्णय नसुनाउँदासम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्दिनँ,’ उनले भने, ‘म हरेक घर र हरेक सडकमा जान्छु र जनताको निर्णय नआउँदासम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्दिनँ ।’

जेलमा हुँदा राजीनामा नदिएकोबारे प्रष्टीकरण दिँदै उनले भनेका छन्, ‘म लोकतन्त्रको सम्मान गर्छु त्यसैले मैले राजीनामा दिइनँ, मेरो लागि संविधान नै सर्वोच्च हो ।’

दिल्लीको मदिरासम्बन्धी नीतिमा घोटाला गरेको भन्दै सीबीआईको हिरासतमा रहेका केजरीवाललाई शुक्रबार सर्वोच्च अदालतले १० लाख रुपैयाँ धरौटीमा शर्तसहित छाड्न आदेश दिएको थियो । न्यायाधीश सूर्यकान्त र उज्जल भुइयाँको इजलासले उक्त मुद्दाको सुनुवाइ गर्दै सेप्टेम्बर ५ मा फैसला सुरक्षित गरेको थियो । अदालतले केजरीवाललाई जमानतमा रिहा गर्न यस मामिलामा उनले कुनै पनि सार्वजनिक टिप्पणी नगर्ने, उनीविरूद्धको मुद्दाको अन्तिम फैसला नहुँदासम्म अदालतमा सबै सुनुवाइका लागि उपस्थित हुनुपर्ने शर्तहरू पनि राखेको थियो ।

जेलबाट छुटे पनि केजरीवाललाई लेफ्टिनेन्ट गभर्नर भिके सक्सेनाको अनुमति बिना मुख्यमन्त्री कार्यालय वा कुनै कागजातमा हस्ताक्षर गर्न नपाउने गरी छाडेको थियो ।

केजरीवालले सर्वोच्च अदालतमा दुईवटा रिट दायर गरेका थिए थिए । उनले आफ्नो मुद्दामा जमानत अस्वीकार गरिएको भन्दै यसकाविरूद्ध एउटा याचिका दायर गरेका थिए भने सीबीआईको गिरफ्तारीविरुद्ध दोस्रो याचिका दायर गरिएको थियो ।

केजरीवाललाई सीबीआईले प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतबाट पक्राउ गरेको थियो जसलाई सर्वोच्च अदालतले आफ्नो आदेशमा वैध भनेको छ ।

ईडीको हिरासतका क्रममा सीबीआईले पक्राउ गरेको विषयमा सर्वोच्च अदालतले भनेको थियो, ‘यदि कोही व्यक्ति पहिल्यै हिरासतमा छ भने उसलाई अनुसन्धानका लागि पक्राउ गर्न कुनै समस्या हुँदैन ।’

केजरीवाललाई ईडीको टोलीले मार्च २०२४ मा पक्राउ गरेको थियो । सन् २०२४ जुलाई १२ मा केजरीवाललाई ईडी मामलामा सर्वोच्च अदालतबाट जमानत मिलेको थियो ।

तर यो जमानत पाउनुअघि सीबीआईले केजरीवाललाई गत जुनमा पक्राउ गरेको थियो । यही कारण केजरीवाल त्यतिबेला जेलबाट बाहिर आउन सकेका थिएनन् ।

दिल्लीका मन्त्री आतिशी मर्लेना सिंहले केजरीवाललाई जमानत दिने अदालतको फैसलापछि भनेका छन्, ‘सत्यमेव जयते’ । यसको अर्थ हुन्छ, ‘सत्य विचलित हुन सक्छ, पराजित हुन सक्दैन ।’

लोकसभा चुनावलाई ध्यानमा राख्दै सर्वोच्च अदालतले अरविन्द केजरीवाललाई मे १० मा चुनाव प्रचारका लागि २१ दिन अर्थात् जुन २ सम्म अन्तरिम जमानत दिएको थियो ।

आपका अर्का नेता तथा दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसौदियालाई पनि केही समय पहिले यस मुद्दामा जमानत दिइएको थियो । सिसोदिया १७ महिनापछि जेलमुक्त भएका थिए भने त्यसभन्दा पहिले आप नेता सञ्जय सिंह धरौटीमा रिहा भएका थिए ।

भाजपाले केन्द्रीय निकायहरूको प्रयोग गरेर विपक्षी नेताहरूलाई झूटा आरोपहरूमा फसाइरहेको आम आदमी पार्टीले आरोप लगाउँदै आएको छ । भाजपाले कानुनको नजरमा सबै समान भएको भन्दै यस्ता आरोपको खण्डन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?