काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।
इन्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।
जसअनुसार साविकको मूल्यमा पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेल ५ रुपैयाँले घटेको हो ।
नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायल अर्थात तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४९ रहेको छ ।
त्यस्तै पहिलो वर्ग अर्थात् चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको प्रतिलिटर मूल्य १५६ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा १४६ रुपैयाँ ५० पैसा तोकिएको छ ।
निगमका अनुसार दोस्रो वर्ग अर्थात् सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १५८ रुपैयाँ र डिजेल तथा मट्टितेल १४८ रुपैयाँ कायम भएको छ ।
इन्डियन आयल कर्पोरेशनले मूल्य घटाएसँगै निगमले पनि मूल्य समायोजन गरेको हो ।
आज रातिको १ बजेबाट उक्त मूल्य लागू हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया