अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पको फेरि हत्या प्रयास

लोकपथ
126
Shares

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरि हत्या प्रयास भएको छ । आसन्न राष्ट्रपति निर्वाचनका लागि रिपब्लिक पार्टीका तर्फबाट उम्मेदवारसमेत रहेका पूर्वराष्ट्रपति ट्रम्पमाथि फ्लोरिडाको एक गल्फ कोर्समा गल्फ खेलिरहेको अवस्थामा एके ४७ जस्तो देखिने हतियारबाट आक्रमण प्रयास भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यसअघि जुलाई १३ मा पेन्सिलभेनियाको ¥यालीमा सम्बोधन गर्दै गरेका अवस्थामा उनीमाथि गोली प्रहार भएको थियो । यद्यपि, त्यसबेला उनी बालबाल बचेका थिए । त्यसबेला गोली लागेर उनको कानमा घाउ भएको थियो । त्यतिबेला ट्रम्पमाथि गोली चलाउने २० वर्षीय थोमस क्रुक्सलाई सुरक्षाकर्मीले गोली प्रहार गरी मारिदिएका थिए। न्यूयोर्क टाइम्सका अनुसार यसपटक भने फ्लोरिडाको वेष्टपामबीचको गल्फ कोर्स नजिकैको झाडीबाट उनीमाथि आक्रमणको प्रयास भएको थियो ।

एके–४७ जस्तो देखिने बन्दुक ट्रम्पतर्फ तेस्र्याएको अवस्थामा ती व्यक्तिलाई पक्राउ गरिएकाले कुनै अप्रिय घटना भने हुन पाएन । पक्राउ पर्नेमा ५८ वर्षीय र्‍यान वेल्सी रहेको स्थानीय प्रहरीले जनाएको छ । उनलाई पक्राउ गर्न प्रहरीले गोली चलाएपछि ती व्यक्ति त्यहाँबाट भागेका थिए ।

त्यहाँबाट भागेको केही समयमै प्रहरीले ती बन्दुकधारीलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार, उनी पक्राउ परेको क्षेत्रमा एउटा कालो गाडी, गोप्रो क्यामेरा, झोला र आगो निभाउन प्रयोग गरिने उपकरण पनि फेला परेको थियो । संदिग्ध आक्रमणकारी पक्राउ परेपछि ट्रम्पले पनि आफू सुरक्षित भएको भन्दै नडराउन आफ्ना समर्थकलाई आह्वान गरेका छन् । राष्ट्रपति निर्वाचनको अर्की उम्मेदवार कमला ह्यारिसले पनि अमेरिकामा हिंसाको कुनै स्थान नभएको प्रतिक्रिया दिएकी छन् । अमेरिकामा नोभेम्बर ५ राष्ट्रपति निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?