काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतबारे पर्सि बुधबार निर्णय लिने भएको छ । समिति सदस्य ईश्वरी घर्तीमगरका अनुसार यो विषयमा निर्णय लिन बुधबार बिहान ११ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको छ ।
संसदीय सुनुवाइ समितिमा प्रस्तावित १७ जना राजदूतको सुनुवाइ सकिइसकेको छ । अन्तिम निर्णयका लागि आइतबार बैठक बोलाइएको थियो । तर, त्यस दिन बैठक बस्नै सकेन । प्रतिनिधिसभाको बैठकका कारण समय नपुग्ने भन्दै सुनुवाइ समितिको बैठक अचानक स्थगित गरिएको थियो ।
सुनुवाइ समितिले प्रस्तावित राजदूतको सुनुवाइ सकिएपछि परराष्ट्रमन्त्री आरजु राणालाई भेट गरी राजदूतको सिफारिस समावेशी नभएको भन्दै चासो व्यक्त गरेको थियो ।
समितिले प्रस्तावित राजदूतविरुद्ध परेको उजुरीलाई लिएर कानुनका जानकारसँग पनि छलफल गरेको थियो । प्रस्तावित राजदूतमध्ये समितिमा भारतका लागि सिफारिस शंकरप्रसाद शर्मा, मलेसियाका लागि डा। नेत्रप्रसाद तिम्सिना, इजरायलका लागि धनप्रसाद पण्डित र दक्षिण अफ्रिकाका लागि सिफारिस भएका कपिल श्रेष्ठविरुद्ध उजुरी परेको थियो ।
उजुरी परेका राजदूतबारे के गर्ने भन्नेमा समिति सदस्यहरू निष्कर्षमा पुगिसकेका छैनन् । यी चार जनालाई समितिले ‘रेड जोन’ मा राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया