काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिनको लागि गठित संसदीय विशेष समितिले आज संसद्मा प्रतिवेदन बुझाउँदैछ ।
समितिले आइतबार मध्यरातीबाट बैठक बसेर सहकारी ठगी प्रकरणको प्रतिवेदन तयार पारेको हो ।
उक्त प्रतिवेदनले गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेको समेत संलग्नता देखाएको छ ।
गोखरा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशकका रुपमा सहकारीको रकम हिनामिना प्रकरणमा रविको प्रत्यक्ष संलग्नता देखिएको छानबिन समितिका सदस्य ध्रुबबहादुर प्रधानले बताए ।
सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले विभिन्न सहकारीबाट गोरखा नेटवर्कमा पैसा ल्याउने विषयमा लामिछानेको संलग्नता रहेको पुष्टि भएको बताए । साथै प्रबन्ध निर्देशकका रुपमा रवि, अध्यक्ष जीबी राई र सञ्चालक छविलाल जोशीले कम्पनीको नाममा तीन मध्ये एकले चलाउन सक्नेगरी खाता सञ्चालन गरेको समेत बताए ।
यसअघि सार्वजनिक कार्यक्रमदेखि समितिको बयानका क्रममा समेत लामिछानेले आफूलाई गोरखा मिडिया नेटवर्कको आयाव्ययको विषयमा केही थाहा नभएको बताउँदै आएका छन् । तर त्यहाँ आम्दानी र खर्चमा समेत लामिछानेको संलग्नता देखिएपछि उनीमाथि छानबिन हुने प्रधानले बताए ।
‘गोरखा मिडिया नेटवर्ककको अर्थ संकलनको अवस्थामा सहकारीहरुबाट रकम प्रवाह भएको छानबिनमा देखिएको छ,’ उनले भने, ‘त्यो अकाउन्ट ३ वटा मध्ये कुनै एक जना व्यक्तिले सञ्चालन गर्न सक्छ भन्ने कुराको गाम्भीयतारलाई हामीले हेरेका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया