कैलाली । जिल्ला कारागार कैलालीमा रहेका एक थुनुवाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–४ का २२ वर्षीय दीपक विकको मृत्यु भएको हो ।
उनी हाडनाता करणी मुद्दाअन्तर्गत कारागार जीवन व्यतीत गरिरहेका थिए । सोमबार दिउँसो करिब ३ बजेतिर शौचालयमा लडेको अवस्थामा भेटिएका दीपकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा साँझ करिब ६ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए । प्रहरीले उनको मृत्युबारे अनुसन्धान भइरहेको र अहिले नै के कति कारणले मृत्यु भएको हो भनेर भन्न नसकिने जनाएको छ । यद्यपि, दीपकका आफन्तहरूले भने कारागार प्रशासनको लापरबाहीले उनको ज्यान गएको आरोप लगाएका छन् ।
मृतक दीपकका काका नेत्र पहराईंले कारागारको लापरबाहीका कारण ज्यान गएको बताए । उनले भने, ‘सोमबार दिउँसो १२ बजेसम्म पनि कुरा भएको थियो । ३ बजेतिर बिरामी भएको भन्दै फोन आयो, अस्पताल पुग्दा त मृत्यु भइसकेको थियो, कारागारभित्रै रहेको एउटा व्यक्तिको एक्कासि कसरी मृत्यु हुन्छ यो रहस्यमय घटना छ ।’ मृतकका आफन्तले दीपकले प्रहरीले खोकी लागेको र औषधि खाएपछि बमिट गरेको जानकारी दिएको पनि दाबी गरेको छ ।
प्रहरीको यस्तो भनाइपछि मृतकका आफन्तले उनले विष सेवन गरेको आशंका गरेका छन् । तर, प्रहरीले भने यस विषयमा पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै भन्न सक्ने बताएको छ । दीपकले केही समय पहिले बहिनी नाता पर्ने नाबालिगलाई विवाह गरेर भारतको बेंग्लोर लगेकोमा दीपककै आफन्तले उनीहरू दुबैलाई घर बोलाएका थिए । उनीहरू फर्केपछि किशोरीका आफन्तले २०८० माघ ७ गते दीपकविरुद्ध इलाका प्रहरी कार्यालय सुखडमा मुद्दा दर्ता गरेपछि उनी कारागार चलान भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया