काठमाडौं । टोस्टमास्टर्स नेपालको साइटेसन २०२४ सम्पन्न भएको छ । यही भदौ २९ गते काठमाडौंको अलफ्ट होटेलमा साइटेसन २०२४ सम्पन्न गरिएको हो ।
उक्त साइटेसनमा काठमाडौं, भक्तपुर, झापा, धरान, बुटवल, भैरहवा, वीरगन्ज, नेपालगन्ज, पोखरा र चितवनका ६० भन्दा बढी क्लबका सदस्यहरूसहित देशभरका करिब ३०० सदस्यहरूको उपस्थिति रहेको थियो ।
‘टुगेदर फर हन्ड्रेड’ भन्ने नाराका साथ टोस्टमास्टर्स इन्टरनेशनलको शतवार्षिकी मनाउँदै, सन् २०२६ सम्ममा नेपालमा १०० वटा टोस्टमास्टर्स क्लबको लक्ष्य हासिल गर्ने प्रतिबद्धता पनि उक्त साइटेसनमा व्यक्त गरिएको थियो ।
कार्यक्रमको सफलताको बारेमा बोल्दै टोस्टमास्टर्स इन्टरनेशनलको डिस्ट्रिक्ट ४१ की डिस्ट्रिक्ट डाइरेक्टर मून प्रधानले भने, ‘यस वर्षको साइटेसनले नेपालको टोस्टमास्टर्स समुदायबीचको एकताको भावनालाई प्रस्तुत गरेको छ । हामी नेपालमा टोस्टमास्टर्सको अहिलेसम्मको प्रगति देखेर निकै गर्वित छौँ । यस सफलतालाई निरन्तरता दिँदै सन् २०२६ सम्म १०० वटा टोस्टमास्टर्स क्लब पुर्याउने लक्ष्य हामीले राखेका छौँ ।’
टोस्टमास्टर्स नेपालले हरेक वर्ष टोस्टमास्टरको सदस्यभन्दा बाहेकको एक व्यक्तित्वलाई उनको सञ्चार तथा नेतृत्व क्षमताका लागि ‘दि कम्युनिकेटर अवार्ड’ प्रदान गर्दै आएको छ । यस वर्षको ‘कम्युनिकेटर अवार्ड २०२४’ मिडियाकर्मी भुषण दाहाललाई प्रदान गरिएको थियो ।
त्यसैगरी साइटेसनमा पाँचवटा डिभिजनहरूको ह्युमरस स्पिच, टोस्टमास्टर सीमा गोल्छाको स्ट्यान्ड–अप कमेडी प्रस्तुति, अन्य थुप्रै सदस्यहरूको नृत्य र गायन लगायत मनोरञ्जनात्मक प्रस्तुतिको साथमा अन्य थुप्रै सामूहिक गतिविधिहरू र पुरस्कारहरू समावेश थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया