दुबईमा कम्पनीको ज्यादतीमा परेकी कुस्मा स्वदेश फर्किइन्

अमरबहादुर हस्पिटालिटी सर्भिसेजले नै टिकट काटेर नेपाल पठायो उनलाई

लोकपथ
567
Shares

काठमाडौं । दुबईस्थित अमरबहादुर हस्पिटालिटी सर्भिसेजको ज्यादतीमा पर्दै आएकी नेपाली चेली कुस्मा श्रेष्ठलाई सोही सर्भिसेजले नेपाल फिर्ता पठाएको छ ।

सो सर्भिसेजको अमानवीय व्यवहारमा परेकी श्रेष्ठको बारेमा लोकपथ डटकमले भदौ २४ गते सोमबार समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशनपछि दबाबमा परेको अमरबहादुर हस्पिटालिटी सर्भिसेजले त्यसको ६ दिनपछि भदौ २९ गते शनिबार आफैले विमानको टिकट काटी उनलाई नेपाल पठाएको हो । २२ वर्षीया श्रेष्ठ एयर इन्डियाको विमानबाट शनिबार राति पौने ९ बने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएकी थिइन् ।

कुस्माका अनुसार, उनले वैदेशिक रोजगारीका लागि दुबई जान एन्जल मेनपावरमा आफ्नो डकुमेन्ट छाडेकी थिइन् । तर, भिसा भने सुलभ मेनपावरबाट लागेको थियो ।

त्यसबेला आफ्नो भिसाका लागि गोरखाकी सुनिता गुरुङले सहजीकरण गरेको उनले बताएकी थिइन् । दुबई हुँदै उनले भनेकी थिइन्, ‘दुबईमा अपार्टमेन्ट क्लिनरको लागि भिसा लागेपछि भनेबमोजिमको काम पाउने भएँ भनेर म धेरै खुसी भएको थिएँ । दुबई पुगेपछि दिइएको आईडीमा पनि होटल/अपार्टमेन्ट क्लिनर नै लेखिएको थियो । तर कामदार माग गर्ने अमरबहादुर हस्पिटालिटी सर्भिसेजले मलाई आईडीमा भनिएबमोजिमको काम दिएन ।’

अमरबहादुर सर्भिसेजले त्यहाँ उनलाई घरको काम गर्न पठाएको थियो । उनले सुरुमा यो विषयमा कुरा उठाएकी थिइन् । त्यसबेला उनलाई आईडीमा भनेबमोजिमको काम गर्न पछि पठाउने जवाफ दिइएको थियो । तर, आईडीमा भनेबमोजिम काममा पठाउनुको साटो उनलाई भनेबमोजिम तलब पनि दिइएन ।

‘म मासिक १३०० दिराम पाउने गरी दुबई आएको थिएँ । तर मलाई एक हजार दिरामभन्दा बढी दिइएन । पछि त यतिसम्म हुन थाल्यो कि सो सर्भिसेजले मलाई मासिक तलब नै दिन छाडेको थियो । दुबई आएको सात महिनामा मलाई तीन महिनाको मात्र तलब दिइएको थियो, उनले भनेकी थिइन् ।

आफूमाथि दिनप्रतिदिन ‘अन्याय’ हुन थालेपछि यो विषयमा कुरा उठाउँदा उल्टै आफू बसेकै कोठामा आफूमाथि कुटपिटसमेत भएको उनले बताएकी थिइन् । ‘नेपाल फर्कने भन्दा पनि फर्कन दिइएको थिएन,’ उनले भनेकी थिइन् । अमरबहादुर हस्पिटालिटी सर्भिसेजका सञ्चालक नेपाली नागरिक अमरबहादुर विक हुन् ।

उनले आफूले कसैलाई पनि ज्यादती नगरेको बताए । ‘नेपालबाट आउँदा जुन कमिन्टमेन्ट गरेर दुबई आउँछन्, दुबई आएपछि थप सेवा सुविधा माग्ने प्रवृत्तिका कारण चाहिँ समस्या हुने गरेको छ,’ उनले दुबईबाट लोकपथसँग भने ।

यो पनि

दुबईमा अमरबहादुर हस्पिटालिटी सर्भिसेजको अमानवीय धन्दा, नेपाली युवतीमाथि चरम यातना (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?