जनअपेक्षा अनुसार सरकारले राम्रो काम गर्न खोजेको छ : मन्त्री सिंह

लोकपथ
35
Shares

धनगढी । उपप्रधानमन्त्री एंव सहरी विकास मन्त्रीसमेत रहेका प्रकाशमान सिंहले विगतका सरकारहरूले भन्दा राम्रो काम गर्ने गरी अहिलेको सरकारले कामलाई अघि बढाइरहेको बताएका छन् ।

धनगढी उपमहानगरपालिकाको १०औँ स्थापना दिवसका अवसरमा मंगलबार भएको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले जनअपेक्षा अनुसार शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सरकारले राम्रो काम गर्न खोजेको बताएका हुन् ।

‘जनचाहना अनुसार विकास निर्माणका साथै शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा पनि अहिलेको सरकारले विगतका सरकारहरूले भन्दा राम्रो काम गर्न ध्यान केन्द्रित गरेको छ, ’उपप्रधानमन्त्री सिंहले भने ।

उनले स्थानीय तह, प्रदेश र संघीय सरकारले आवश्यक कानुनहरू बनाएर जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा पनि जोड दिएका छन् । साथै उनले व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन आएको उल्लेख गरे ।

‘व्यवस्था परिवर्तन भयो तर अवस्थामा परिवर्तन भएन भन्ने भाष्य बनाउन खोजिँदैछ, तर त्यस्तो होइन,’ उनले भने, ‘२०४६ सालअघि धनगढीकै अवस्था कस्तो थियो, अहिले कस्तो छ तुलना गरेर हेरौँ न, परिवर्तन त भएका छन् नि ।’

उनले सडक, खानेपानी, शिक्षा र स्वास्थ्य लगायत क्षेत्रमा पहिलेकोभन्दा तुलनात्मक रूपमा अहिले राम्रो हुँदै गएको पनि बताएका छन् । ‘हामी आफैँले परिवर्तन महसुस गरेका छौँ भने त्यो अवस्थामा परिवर्तन भएको हो नि,’ उनले भने । 

सरकार घरीघरी परिवर्तन भइरहँदा नैराश्यता देखिएकोले संघीय संसद्का दुई ठुला दल कांग्रेस र एमाले मिलेर अहिलेको सरकार बनाइएको सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?