मनहरी गाउँपालिकाका अध्यक्षले एकल महिलाका लागि बनाइदिए घर

लोकपथ
63
Shares

काठमाडौं । मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले आवासविहीन एकल महिलालाई घर बनाइदिएका छन् ।

उनले गाउँपालिकाबाट प्राप्त पारिश्रमिक तथा सेवा सुविधा वापतको रकमबाट मनहरी–५, वसन्तपुरकी सोनी राईलाई पक्की घर बनाइदिएका हुन् । उक्त निर्माण सम्पन्न घर मंगलबार गाउँपालिका अध्यक्ष कालाखेतीले राईलाई हस्तान्तरण गरेका छन् ।

लामो समयदेखि राई मनहरी–५ वसन्तपुरमा आवासविहीन अवस्थामा रहँदै आइरहेकी थिइन् । राईको परिवारमा उनीबाहेक कोही नरहेको बताउँछिन् । करिब आठ वर्ष अगाडि श्रीमान नरबहादुरको काठ काट्न जाँदा लडेर मृत्यु भएको उनले बताइन् ।

निर्वाचनका बेला जनताको बीचमा गरेको प्रतिबद्धता अनुसार कालाखेतीले आफ्नो पारिश्रमिक तथा सेवा सुविधावापत प्राप्त गर्ने रकमको कोष बनाएर जम्मा गर्दै आएका छन् । आगामी दिनमा पनि समस्यामा परेका पालिकाबासीको सेवामा उक्त कोषबाट रकम खर्चिने प्रतिबद्धता उनले गरेका छन् । उक्त कोषबाट राईको घर निर्माण गर्न २ लाख १५ हजार रुपैयाँ खर्च लागेको अध्यक्ष कालाखेतीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?