रविमाथि कारबाही गर्न चौतर्फी दबाब : प्रतिरक्षामा रास्वपा

लोकपथ
182
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कारबाही गर्न चौतर्फी दबाब सिर्जना भएको छ ।

सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित समितिले विभिन्न सहकारीको रकम अपचलनमा लामिछानेसहितका व्यक्तिहरुलाई कारबाहीको सिफारिस गरेको छ । सोमबार संसद्मा समितिका सभापति समेत रहेका एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले प्रतिवेदन बुझाए ।

प्रतिवेदनको परिच्छेद १८ को सुझाव तथा सिफारिस खण्डमा गोरखा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेसहितका व्यक्तिहरुमाथि कारबाही गर्न समितिले सरकारलाई सिफारिस गरेको छ ।

‘कुनै पनि कम्पनीको आफ्नै उदेश्य र मर्म हुन्छ । कम्पनीका सञ्चालक वा शेयरहोल्डरहरु त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन् । शेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरुले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन । खातावाल हस्ताक्षरकर्ताहरु जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छन्, त्यसबापत दायित्व ग्रहण गर्नुपर्दछ । सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरु अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रुपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुन बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने,’ समितिको प्रतिवेदनमा भनिएको छ ।


उक्त प्रतिवेदन संसद्मा बुझाएसँगै रास्वपा सभापति लामिछानेसहित सांसदहरु रविले ‘क्लिन चिट’ पाएको भन्दै ‘मिडिया ट्रायल’मा लागे ।

उसो त उक्त समितिमा बसेर ३ महिनाभन्दा बढी काम गरेर प्रतिवेदन तयार पार्न मुख्य भूमिका खेलेका रास्वपा सांसद एवं समिति सदस्य शिशिर खनाल स्वंमले नै रविले ‘क्लिन चिट’ पाएको बताए ।

रास्वपा सांसद खनाल, स्वर्णिम वाग्ले, तोसिमा कार्कीदेखि सुमना श्रेष्ठसम्मले रविको बचाउ गर्दै क्लिन चिट पाएको, उन्मुक्ति पाएको र सहकारी काण्डबाट चोखिएको प्रतिक्रिया दिए । मंगलबारबाट सुरु भएको रास्वपाको राष्ट्रिय भेलामा लामिछानेले आफूले क्लिन चिट पाएको भन्दै देशभरबाट आएका सयौँ नेता कार्यकर्ताहरुलाई आश्वस्त तुल्याए, उनको बोलीको विश्वासमा रास्वपा समर्थकको ताली पड्किए पनि अन्य दलहरुले भने कारबाही गर्न माग गर्दैै दबाबको घण्टी बजाउन थालेका छन् ।

लामिछाने सहकारीको करोडौँ रकम अपचलनमा मुछिएको भन्दै छानबिन समितिमार्फत कारबाही गर्न माग गर्दै समिति बनाउन दबाब दिने मुख्य दल नेपाली कांग्रेसका नेताहरु रविमाथि कारबाही हुनुपर्नेमा जोडतोडका साथ आवाज उठाउन थालेका छन् ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले छानबिन समितिको प्रतिवेदनका आधारमा कारबाही हुनुपर्ने उल्लेख गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले क्लिन चिट वा क्लियर चिट बुझ्न सुझाव दिए ।

उनले भनेका छन् :
नयाँ दलको प्रथम राट्रिय सम्मेलन सफलताको शुभकामनासहित दुई सुझाव :
पहिलो, कतिपय असन्तुष्टिको माहौलमा ‘स्वतन्त्र’ मन बनाएका कतिपय नागरिकको भावनात्मक आवेग ‘क्यास’ गर्न ‘स्वतन्त्र’ नाम रोज्नुभो, एउटा आकार बनाउनुभो । अब ‘स्वतन्त्र’ छोडेर दलको नाम जुराउने साहस राख्नोस् ! शुभकामना ।
दोस्रो । क्लिन चिट कि ‘क्लियर चिट’ ? स्पष्ट हुनोस् । ‘प्रचलित कानुन बमोजिम कारबाहीका लागि सिफारिस गर्ने’, प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौं, भ्रम नछरौं । बरु ‘क्लियर चिट’ किटान गरेको छ प्रतिवेदनले । चिट (Cheat) को अर्थ– बेइमानी, अंग्रेजीका ज्ञाता मित्रहरू बुझ्नुहुन्छनै !

गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक ‘म्यानेजिङ डाइरेक्टर’ रहेका लामिछानेले कम्पनीमा पैसा कहाँबाट आयो भन्ने आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिइरहेका छन् ।

गोरखा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि, वुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि., सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लि, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. र सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि. बाट उक्त रकम गएको प्रतिवेदनले स्पष्ट देखाएको छ ।

ती सहकारीबाट गोरखा मिडिया नेटवर्कमा सञ्चालित ग्यालेक्सी फोर के टेलिभिजनमा ६५ करोड ५४ लाख रुपैयाँ प्रवाह भएको देखाएको छ ।

अझ समितिको प्रतिवेदनले विधि र प्रक्रिया नै नपुर्याइ रकमहरु रकमानान्तर गरिएको गम्भीर तथ्य समेत औँल्याइएको छ । सहकारीबाट कुनै निजी कम्पनीमा ऋण लिन नपाइने कानुन हुँदाहुँदै पनि विभिन्न किर्ते कागज खडा गरी रकम लिएको प्रतिवेदनले देखाएको छ ।

‘कतिपयले कम्पनीलाई सापटीका रूपमा, कतिमा कम्पनीलाई ऋणका रूपमा, कतिमा सञ्चालकका नाममा ऋण खडा गरी कम्पनीमा र कतिमा कम्पनीका सञ्चालकको नाममा ऋण खडा गरी कम्पनीमै रकम प्रवाह भएको देखियो‚’ प्रतिवेदनमा भनिएको छ । तर उक्त कम्पनीको शेयर सदस्य एवं प्रबन्ध निर्देशक जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले उक्त कम्पनीमा कहाँबाट पैसा आयो आफूलाई थाहा नहुने बताइरहेका छन् ।

कांग्रेस मात्र होइन एमालेका नेताहरु पनि रविमाथि कारबाही हुनुपर्नेमा अडान कायम गरेका छन् । एमालेका महासचिव शंकर पोखरेलले कम्पनीको जिम्मेवार व्यक्तिले उक्त संस्थामा कहाँबाट पैसा आयो भन्ने थाहा छैन भन्नु गैरजिम्मेवार रहेको बताए । निर्वाचनका बेला ‘जान्नेलाई छान्ने’ भन्दै वैकल्पिक राजनीतिको नारा दिने तर अहिले आएर वैकिल्पक राजनीतिमाथि नै प्रहार भएको प्रतिक्रिया दिएका छन् ।

‘कुनै कम्पनीको सिइओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी विना लगानी त्यसको सेयर होल्डर बन्दछ र सिइओको रुपमा मनलाग्दी पैसा खर्च गर्दछ । अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरुले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र ?,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

यता पूर्व मन्त्री समेत रहेका एमाले नेता गोकुल बास्कोटाले रवि कारबाहीमा पर्ने र चितवन क्षेत्र नं २ मा पुनः निर्वाचन हुने भन्दै कटाक्ष गरेका छन् । यसअघि नागरिकता काण्डमा रविको पद गएपछि पुनः निर्वाचन भएको उदाहरण दिँदै उनले पुनः त्यहाँ निर्वाचन हुनेतर्फ संकेत गरे ।

‘चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव त पाँच वर्षमा तीन वटा गर्न पनि तयारी हालतमा बस्न सक्ने । कानुनविदका वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउदमै पुरा हुने कुरा पक्का जस्तै छ भनिन्छ । ७८औं जिल्ला त्यसै भन्या रैनछ चितवनलाई!,’ उनले भनेका छन् ।

कांग्रेस एमाले नेता मात्र होइन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सहकारी ठगी प्रकरणमा अलि वृहत् तरिकाबाट सोच्न आग्रह गरेका छन् ।

एकाथरिले क्लिन चिट पाएको भन्दै हल्ला गरेको र अर्को थरिले कारबाहीका लागि सिफारिस गरेको भन्दै जनताको आँखामा छारो हाल्ने काम भएको जिकिर गरेका छन् । प्रमुख भनिने दलका नेताहरु नै सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै भ्रष्ट शासकहरु भएसम्म सहकारी ठगी भइरहने टिप्पणी गरे ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् :
एकथरी भन्छन् क्लिन चिट पायो ! अर्कोथरी भन्छन् होईन,कारवाहीको सिफारिश भयो ! यो दुबै जनताको आँखामा छारो हाल्ने कुरा मात्र हो।सत्य के हो भने,प्रमुख भनिने दलका नेता कार्यकर्ताहरुकै संरक्षण र संलग्नतामा सहकारी ठगी र बचतकर्ताको रकम अपचलन भएको देखिएपछि सबै मिलेर फासफुस पारे । भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त नपारेसम्म यस्तो भैरहन्छ,’ उनले भनेका छन् ।

सूर्य थापाको प्रतिक्रियापछि नैतिक संकटमा रास्वपा

रास्वपाका नेता कार्यकर्ताहरु रविले ‘क्लिन चिट’ पाएको भन्दै खुसियाली मनाइरहँदा एमाले नेता एवं समितिका सभापति सूर्य थापाले भने कारबाहीको सिफारिस भएको स्पष्ट पारेका छन् । मंगलबार साँझ एक टेलिभिजन अन्तर्वार्तामा उनले ‘क्लिन चिट’ भनेको सफाइ नभएको व्यंग्य गर्दै कारबाही हुने स्पष्ट पारे ।

थापाले रविसहित रास्वपा नेताहरूले प्रतिवेदनको निष्कर्षलाई अपव्याख्या गर्ने काम गरिरहेको बताउँदै असन्तुष्टि जनाएका छन् । थापाले समितिले तयार पारेको प्रतिवेदन संसद्को अंग बनिसकेको प्रतिवेदनको निष्कर्षलाई रास्वपाका नेताहरूले अपव्याख्या गरिरहेको भन्दै कुन लाइन, कुन हरफमा क्लिन चिट लेखिएको छ भन्दै प्रश्नसमेत गरेका छन् ।

टेलिभिजन अन्तर्वार्तामा थापाले भनेका छन्, ‘जान्नेलाई छान्नुस्, हामी जान्ने हौं हामीलाई छान्नुस् भन्ने मानिसले प्रतिवेदनमा लेखेको, चस्मा हेरेर खोलेर हेर्दा थाहा पाउने चिजको डिस्टोर्सन गर्ने ?’

उनले प्रश्न गर्दै भनेका छन्, ‘क्लिन चिट कहाँ छ ? कुन लाइन, कुन प्यारामा छ ? कारबाहीको सिफारिसको अंग्रेजीमा अनुवाद क्लिन चिट हुन्छ ? सफाइ हुन्छ ? कहाँ पढ्नुभएको हो, कुन स्कुलमा हो ? कुन विश्वविद्यालयमा हो ? यो भन्नु प-यो नि त !’
उनले राज्यका तत् तत् निकायलाई अनुसन्धान, कारबाही गर्न सिफारिस गरिसकिएको बताउँदै भनेका छन्, ‘यो बाध्य नपार्नुस् न । समितिले गरेको निर्णय मैले एक्लै गरेको निर्णय होइन । त्यो संसदको अंग हो ।’

उनले गोरखा मिडिया नेटवर्कले ग्यालेक्सी फोर के टिभीलगायतका मिडिया सञ्चालन गर्न सबै सहकारीको पैसा खर्च गरेको पनि बताएका छन् ।

‘गोरखा मिडिया नेटवर्कले खर्च गरेकोमध्ये ६५ करोड रुपैयाँभन्दा बढी रकम सहकारीहरूबाट त्यहाँ प्रवाह भएको छ । सूर्यदर्शन, सुप्रिम, सहारा, सानोपाइला र स्वर्णलक्ष्मी गरी पाँच वटा सहकारीबाट पैसा प्रवाह भएको छ । त्यो ६५ करोडबाहेक गोरखा मिडिया नेटवर्कले एक वर्षमा कमाएको १० करोड गएको छ । अरू कहीँको फुटेको कौडी गएको छैन । सबै सहकारीको पैसा गएको छ,’ उनले भने ।

वैकल्पिक राजनीतिको मार्ग पहिल्याउन आएका लामिछानेमाथि छोटो समयमा विवादका लामो श्रृंखलाहरु देखिएका छन् । लामिछाने जनतामा देखिएको निराशाको मौका छोपेर आशा छर्ने भन्दै सञ्चारकर्मीबाट राजनीतिकर्मी बने । तर छोटो समयमा लामो विवादका श्रृंखलाले घेरिएका लामिछानेमाथि सहकारी प्रकरणमा सरकार कसरी अघि बढ्छ त्यो भने हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?