एसिया रग्वी  प्रतियोगिता असोज १८ बाट सुरु

लोकपथ
63
Shares

काठमाडौं । एसिया रग्वी महिला तथा पुरुष सेभेन्स ट्रफ्री प्रतियोगिता काठमाडौंमा असोज १८ गते हुने भएको छ । एसिया रग्वीको आयोजना र नेपाल रग्वी संघको व्यवस्थापनमा सञ्चालन हुने प्रतियोगिता असोज १८ र १९ गते दशरथ रंगशालामा सञ्चालन हुने भएको हो । 

सन् २०२२ मा एसिया रग्वी यू–१८ र सन् २०२३ मा एसिया यू–२० रग्वीको सफल आयोजना पश्चात नेपाल रग्वी संघले एसियाली रग्वीको सबैभन्दा ठुलो प्रतियोगिता आयोजना गर्न लागेको हो । 

बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक नेपाल रग्वी संघले प्रतियोगिता आयोजना बारेमा जानकारी गराएको हो । संघका अध्यक्ष दीपक देवकोटाले प्रतियोगितामा एसियाका नेपालसहित १७ वटा देशको सहभागिता रहने जानकारी दिए । उनका अनुसार पुरुष रग्वी सेभेन्सतर्फ १४ वटा टिम र महिला रग्वी सेभेन्समा ८ वटा टिमले सहभागिता जनाउने छन् । 

प्रतियोगितामा एसियाका ४ सय ५० भन्दा धेरै खेलाडी तथा अफिसियल सहभागी हुने अध्यक्ष देवकोटाले बताए । कार्यक्रम सञ्चालनका लागि करिब २ करोड ८० लाख रुपैयाँ खर्च लाग्ने संघको अनुमान छ । प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्वीको ट्रफी सहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले काँस्य पदक प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

संघका महासचिव गोविन्द घिमिरेले विश्व रग्वी महासंघको पूर्ण सदस्यता पाएपछि संघले आफ्नो  गतिविधि अझ प्रभावकारी रूपमा अगाडि बढाउँदै आइरहेको बताए । एसियाली रग्वीको सबैभन्दा ठुलो प्रतियोगिताको आयोजनाबाट नेपालको खेल पर्यटन अभिवृद्धिमा सहयोग पुग्ने विश्वास घिमिरेले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?