क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

लोकपथ
3k
Shares

दैलेख । क्षयरोग (टीबी) पछि क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमानेका राउटे युवकको बुधबार राति मृत्यु भएको छ । ६ महिनादेखि बिरामी रहेका २२ वर्षीय राउटे युवक बृषबहादुर शाहीको मृत्यु भएको हो ।

अवस्था बिग्रँदै गएपछि भदौ ३१ गते उनलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको थियो । दैलेखको गुराँस गाउँपालिका–१ सिमेलसाल बस्दै आएका उनलाई उपचारका लागि अस्पताल लैजान पनि बल्ल बल्ल मनाइएको थियो । राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद बिसीका अनुसार, ‘सम्झाइ बुझाइ उनलाई प्रदेश अस्पताल लगिएकोमा खकार चेक गर्दा क्षयरोग (टीबी) रोग देखिएको थियो । उपचारमा संलग्न चिकित्सकले सरुवा टीबी भएको जानकारी दिएपछि क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा उनी मन्जुर भएनन् ।

त्यसपछि अस्पतालले डिस्चार्ज गरिदियो । फर्किदै गर्दा बाटोमा उनको मृत्यु भयो । मृतक युवा कल्याल जातिका मुखिया वीरबहादुर शाहीका साइला सन्तान हुन् । यसअघि मृतकका दाजु कपिल शाहीको ६ वर्षअघि मृत्यु भएको थियो । २०७२ सालमा कपिल अछामको भैरवस्थानको कुजेडामा आगोले पोलिएका थिए । कपिल वीरबहादुर शाहीका जेठा छोरा हुन् । बृषबहादुरको मृत्युसँगै राउटेको जनसंख्या घटेर १३४ मा झरेको छ । हाल यो समुदाय गुराँस गाउँपालिका–१ को सिमेसालमा बसोबास गरिरहेका छन् ।

२०७५ असारदेखि यता यो समुदायमा ४३ जनाको मृत्यु भएको छ भने ३१ जनाको मात्र जन्म भएको सोसेक नेपालका कर्मचारी लालबहादुर खत्रीले जनाए । अर्को एकजना युवा सुरेन्द्र शाहीलाई प्यारालाइसिस भएको छ । बिहीबार गैरराउटेले सहरबजार जताततै बाजागाजासहित संविधान जारीको ९ वर्षको हर्षाेल्लास मनाइरहँदा फरक पहिचान, भेषभुषा र नेपालको सम्पदा कर्णाली प्रदेशको गहना भनेर चिनिने राउटे समुदाय भने पीडामा परेको छ । राउटेहरु गैरराउटेलाई दुनियाँ भनेर चिन्छन् । एक जना सदस्यको मृत्यु हुने बित्तिकै बसाइ सार्ने परम्परा भएकोले यो समुदायलाई बसाइसराइको पिडाले पिरोल्ने गरेको राउटे मुखिया सूर्यनारायण शाहीको भनाइ छ । मुखिया भन्छन्, ‘हाम्रो समुदायमा मान्छे मर्ने बित्तिकै ठाउँ छोड्नुपर्छ । अब परम्पराअनुसार काजकिरिया गरेर बसाइसराइतिर लाग्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?