संविधान दिवस : माईतीघरमा ‘दलितलाई खै ?’ भन्दै प्रदर्शन

लोकपथ
63
Shares

काठमाडौं । विभेदविरुद्ध दलितका लागि दलित अभियानले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै युवाहरूले प्रदर्शन गरेका हुन् । 

दलितका लागि दलित अभियान नेपालको समन्वयमा अभियानका संयोजक खगेन्द्र सुनारसहितका युवाहरूले बिहीबार माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा मुलुकका विभिन्न जिल्लाबाट समेत युवाहरू आएका छन् । सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई विभेद गरिएको भन्दै अभियानले प्रदर्शन गरेको हो । 

पछिल्लो पटक मन्त्रिपरिषद् गठन असमावेशी भएको, डेढ दर्जन राजदूत नियुक्ति गर्दासमेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव र छुवाछुतको निर्मूल पार्नका लागि सरकारले प्रभावकारी कानुन, नीति कार्यक्रम र बजेटकोसमेत प्रबन्ध नगरेको भन्दै युवाहरूले विभिन्न प्ले–कार्डसहित र्‍याली निकालेर दलितलाई खै ? भन्दै प्रदर्शन गरेका हुन् ।

दलितका लागि दलित अभियानका संयोजक सुनारले करिब एक महिनादेखि माइतीघर मण्डलामा शरीरमा नेल लगाएर दलितलाई खै भन्दै प्रदर्शन गर्दै आएका थिए ।

संविधानको व्यवस्था र सामाजिक न्यायको सिद्धान्तबमोजिम दलितको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनीहरूको माग रहेको छ ।

त्यसो आज संविधान दिवसमा सरकारले भव्य कार्यक्रमका साथ मनाए पनि विभिन्न स्थानमा विरोध प्रदर्शनहरु भएका छन् ।

आज सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आथित्यतामा विशेष कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा राष्ट्रपति पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?