सञ्चार उपकरणमार्फत ‘युद्धको नयाँ युग’ : ड्रोनपछि पेजर र वाकिटकी आक्रमण 

लोकपथ
140
Shares

काठमाडौं । लेबनानमा हिजबुल्लाहलाई लक्षित गर्दै इजरायलले गरेको आक्रमणको स्वरूप फेरिँदै गएको छ । केही साता अघिसम्म ड्रोन आक्रमणलाई प्रमुख हतियार बनाएको थियो इजरायली सेनाले । तर अब उसले ताररहित सञ्चार उपकरणहरू पेजर र वाकिटकीलाई निशाना बनाउन थालेको छ । र, यसको मारमा परेको छ हिजबुल्लाह ।

यसअघि दुवै देशबाट तीव्र रूपमा ड्रोन आक्रमण हुने गरेका थिए । ड्रोन आक्रमणबाट इजरायललाई पनि ठुलो क्षति पुगेको थियो । तर इजरायलले बदलाको रूपमा अचानक पेजर र वाकिटकी विस्फोट गराउन थालेको हो ।

इजरायलको यस्तो पेजर र वाकिटकी आक्रमणलाई ‘युद्धको नयाँ युग’को रूपमा पनि अर्थ्याइएको छ । यद्यपि इजरायलले यी विस्फोटबारे कुनै प्रतिक्रिया दिएको छैन । तर इजरायलका रक्षामन्त्रीले यसअघि लेबनानमा आक्रमणको क्रममा युद्धको ‘नयाँ युग’ सुरु भएको प्रतिक्रिया दिएका थिए ।

इजरायली सेनाको पेजर आक्रमणबाट हालसम्म १२ जनाको मृत्यु भइसकेको छ । त्यस लगत्तै उसले गरेको वाकिटकी आक्रमणमा २० जनाको मृत्यु भएको छ भने ४ सय ५० जना घाइते भएका छन् । इजरायली सेनाले पेजर आक्रमण गरेको भोलिपल्टै वाकिटकीमा आक्रमण गर्न थालेको हो । 

राजधानी बेइरुतको दक्षिणी भेगमा पर्ने क्षेत्रमा पर्ने उपनगरहरू बेका उपत्यका र दक्षिण लेबनानमा सशस्त्र समूह हिजबुल्लाहले प्रयोग गरेका वाकिटकीहरू पड्किएपछि त्यहाँ अहिले छुट्टै खाले त्रास फैलिएको छ । बेरुत, बेका वाली, दक्षिणी लेबनानका स्थानहरूमा वाकिटकी विस्फोट गरिएको हो । यी इलाकाहरु हिजबुल्लाहको बलियो पकड भएका क्षेत्र मानिँदै आएको छ ।

यो हमला यस्तो बेला भइरहेको छ कि, इजरायली रक्षामन्त्री योआभ गालान्टले पछिल्ला दिनमा ‘युद्धमा नयाँ चरण’को घोषणा गरिरहेका छन् । इजरायली सेनाको डिभिजन उत्तरी क्षेत्रमा पुनर्तैनाथी भइरहँदा यो घटना भएको छ । 

इजरायली सेनाले बुधवार लेबनानबाट ३० वटा त्यस्ता प्रहार हुँदा आगो लागे पनि कोही हताहत नभएको जनाएको छ । उसले इजरायली विमानले दक्षिण लेबनानमा हिज्बुल्लाह लडाकुमाथि प्रहार गरेको जनाएको छ । ११ महिनायता गाजामा इजरायल र हमासबीच युद्ध चलिरहँदा इजरायल र लेबनानबीच सीमा वारपारका स्थानमा भइरहेको प्रहारले पूर्ण आकारको युद्धको रूप लिनसक्ने चिन्ता यसअघिदेखि नै प्रकट हुने गरेको छ ।

बुधबारका विस्फोटनको केही घण्टापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले लेबनानतर्फको देशको उत्तरी भागबाट विस्थापित भएका दशौँ हजार मानिसहरूलाई ‘सुरक्षित रूपमा उनीहरूका घरमा’ फिर्ता ल्याउने वाचा गरेका छन् । त्यसैबीच रक्षामन्त्री गालान्टले युद्धको केन्द्र स्रोतहरू र फौजका विभाजनका हिसाबले उत्तरतर्फ सरेको बताएका छन् ।

हिज्बुल्लाहले हमासलाई साथ दिनेगरी लडिरहेको भन्दै गाजामा युद्ध रोकिएपछि मात्र सीमापार हमलाहरू रोक्ने जनाएको छ । इरानको साथ पाएको हिजबुल्लाहलाई इजरायल र कैयौँ पश्चिमा देशहरूले आतंकवादी संगठन मान्छन् ।

इजरायल र लेबनानबीच युद्धमा दसौँ हजारको ज्यान गइसकेको छ । अन्तर्राष्ट्रिय समुदायको आग्रह र दबाबका बीच पनि युद्ध रोकिएको छैन । यसलाई लिएर अमेरिकामा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा पनि कडा बहस भएको छ । 

अमेरिकाले इजरायल र हिज्बुल्लाहबीच अवस्था थप चर्कन नदिनका लागि आफूले व्यापक कूटनीतिक प्रयास गरिरहेको जनाएको छ । लगातार दोस्रो दिन सञ्चार उपकरणमार्फत् भएका हमलापछि बोलेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहका जोन किर्बीले थप सैन्य कारबाहीबाट यस संकट सुल्झनेमा ह्वाइटहाउस विश्वस्त नरहेको जनाएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसलेले अवस्था ‘नाटकीय रूपमा चर्कने गम्भीर जोखिम’मा रहेको बताउँदै सबै पक्षलाई ‘अधिकतम संयम अपनाउन’ आह्वान गरेका छन् । उनले पत्रकारहरूसँग भने, ‘प्रस्ट रूपमा यी सबै उपकरण विस्फोटन गराउनुपछिको तर्क भनेको कुनै ठुलो सैन्य अपरेसनअघि शत्रु पक्षलाई कमजोर गर्नु हो ।’

सीएनएनमा प्रकाशित समाचार अनुसार इजरायलले लेबनानमा आक्रमणको योजनाबारे उसले अमेरिकालाई जानकारी दिएको थियो । तर यसबारे विवरण सार्वजनिक गरेको छैन । 

पेजर बनाउने बेला नै विस्फोटक पदार्थ राखिएको थियो 

वाल स्ट्रीट जर्नलले एक स्रोतलाई उद्धृत गर्दै विस्फोटन भएका पेजहरू केही समयअघि मात्र हिज्बुल्लाहलाई आपूर्ति गरिएको जनाएको छ । हिज्बुल्लाहका एक अधिकारीले उक्त पत्रिकालाई बताएअनुसार विस्फोटन हुनुअघि ती पेजहरू निकै तातेका थिए ।

लिथिअम ब्याट्री धेरै तात्दा आगलागी हुन सक्छ । तर विज्ञहरूले पेजर ह्याक गरेर त्यसलाई धेरै तातो बनाउँदा प्रायः विस्फोटन नहुने बताएका छन् । 

विस्फोटक पदार्थका एक भूतपूर्व विशेषज्ञले पेजर निर्माण गर्ने बेलामा नै १० ग्राम वा २० ग्राम सैन्य प्रयोजनको अति विस्फोटक पदार्थ ती साधनमा राखिएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । ती ब्रिटिस विशेषज्ञले आफ्नो नाम उल्लेख गर्न चाहेनन् ।

जापानी कम्पनी आइकमले स्पष्टीकरण

लेबनानमा मानिसको ज्यान जाने गरी वाकी–टकी विस्फोट भएपछि यसको निर्माण गर्ने जापानी कम्पनी आइकमले स्पष्टीकरण दिएको छ । आइकमले भनेको छ, ‘आईसी–भी मोडल २००४ र २०१४ को बीचसम्म मध्य–पूर्वी देशमा निर्यात गरिन्थ्यो । तर सन् २०१४ देखि निर्यात रोकिएको छ। यसको ब्याट्री उत्पादन पनि रोकिएको छ । जुन मेसिनमा विस्फोट भए ती आफैँले पठाएका हुन् वा वितरकमार्फत पठाइएका हुन् भन्न गाह्रो भएको कम्पनीले जनाएको छ ।

हिजबुल्लाह के हो ?

हिज्बुल्लाह इरानबाट समर्थन पाएको लेबनानस्थित शिया इस्लामिस्ट राजनीतिक पार्टी तथा अर्धसैनिक समूह हो । जसलाई सन् १९९२ यता हसन नस्रल्लाहले नेतृत्व गर्दै आएका छन् । हिज्बुल्लाहको शाब्दिक अर्थ ’ईश्वरको पार्टी’ हो । सन् १९८० को दशकमा इजरायलले गर्न थालेको कब्जाका बेला इरानको आर्थिक र सैन्य सहायताबाट हिजबुल्लाहको उदय भएको हो ।

परम्परागत रूपमा दक्षिणी लेबनानका अधिकारविहीनहरूको रक्षकको रूपमा अघि सरे पनि हिज्बुल्लाहको वैचारिक जरा लेबनानमा सन् १९६० र ७० को दशकमा भएको शिया इस्लामको पुनरुत्थानसँग गाँसिएको छ । सन् २००० मा इजरायल फिर्ता भएपछि हिज्बुल्लाहले निरस्त्र हुनुपर्ने दबाबको प्रतिरोध गर्‍यो र आफ्नो सैनिक संगठन ’इस्लामिक रेसिस्टन्स’लाई सुदृढ पार्ने काम जारी राख्यो । रेसिस्टन्स ब्लक नामक पार्टीप्रतिको बफादारीको प्रयोग गर्दै हिज्बुल्लाह बिस्तारै लेबनानको राजनीतिक प्रणालीभित्र एउटा महत्त्वपूर्ण शक्ति बन्न पुग्यो र मन्त्रिपरिषद्भित्र विशेषाधिकार प्रयोग गर्न सक्ने भयो । हिजबुल्लाहमाथि खास गरी इजरायली र अमेरिकी निसानाविरुद्ध बम पड्काउने र षड्यन्त्र गर्ने काम गरेको आरोप वर्षौँदेखि लाग्दै आएको छ । पश्चिमा देशहरूका साथै इजरायल, खाडी अरब देशहरू र अरब लीगले हिज्बुल्लाहलाई ‘आतंकवादी’ संगठन घोषित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?