काठमाडौं । नेपाल पत्रकार महासंघको महाधिवेशन अन्तर्गत आजका लागि तोकिएको उम्मेदवारी मनोनयन रोकिएको छ ।
आगामी असोज १२ गतेका लागि केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा र संस्थागत शाखाको निर्वाचन तोकिएको थियो ।
महाधिवेशनको कार्यतालिका अनुसार असोज ४ गते अर्थात् आज उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका रहेको थियो । तर महासंघले निर्वाचन समितिलाई पत्र पठाउँदै आज मनोनयन स्थगित गरेको जनाएको हो ।
निर्वाचन समितिको संजोजकमा प्रा.चिरञ्जीवी खनाल, सदस्यसचिवमा भक्तिराम घिमिरे, सदस्यहरु अरुण पौडेल, विष्णुमाया भुसाल, शालिकराम सापकोटा, कपिलचन्द्र पोखरेल र देवेन्द्र झा रहेका छन् ।
निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि मनोनयन स्थगित गरिएको जानकारी गराएको हो । त्यस्तै तोकिएकै समयमा निर्वाचन गर्न महासंघ प्रतिवद्ध रहेको निर्वाचन समितिले जनाएको छ ।
महासंघभित्रको आन्तरिक किचलोका कारण यसअघि पनि विभिन्न समयमा महासंघको महाधिवेशन रोकिँदै आएको छ । त्यसो त महासंघका अध्यक्ष विपुल पोखरेलले निर्वाचन हुने माहोल नदिएपछि केही दिन अघि राजीनामा दिएका छन् । पोखरेलले राजीनामा दिएसँगै रमेश विष्ट महासंघको कार्यवाहक अध्यक्ष रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया