काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिमण्डको टोलीसहित अमेरिका प्रस्थान गरेका छन् ।
संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केहीबेरअघि त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल, राष्ट्रिय सभा अभ्यक्ष नारायणप्रसाद दाहाल तथा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे लगायतले विदाई गरे ।
प्रधानमन्त्री ओलीले आगामी असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने तय भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।
त्यस्तै न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ ।
साथै उनले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा र असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः संक्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यतालिका छ ।
उनले भ्रमण क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम रहेको छ ।
गत असार ३० गते प्रधानमन्त्री बनेपछिको ओलीको यो पहिलो विदेश भ्रमण हो ।
प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू रहेका छन् । यद्यपि परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भने यसअघि नै क्यानडाबाट अमेरिका पुगिसकेकी छिन् ।
प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलको टोली आगामी असोज १४ गते स्वदेश कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया