नीतिगत सुधारका लागि सरकारले निजी क्षेत्रको सुझाव लिएको छ : मन्त्री भण्डारी

लोकपथ
28
Shares
फाइल तस्बिर

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नीतिगत सुधारका लागि सरकारले निजी क्षेत्रसँग सुझाव लिएको बताएका छन् ।

उद्योग, वाणिज्य संघ ललितपुरको ४५औँ वार्षिक साधार सभामा बोल्दै उनले मन्त्रालय सुधार कार्ययोजना तय गर्ने बेला सबै क्षेत्रका व्यक्तिहरूसँग सुझाव लिएकोमा उक्त कार्ययोजना कार्यान्वयन गरिरहेको बताएका हुन् । 

उनले आर्थिक मन्दीका कारण व्यवसायीहरूलाई परेको आर्थिक संकटको समाधान गर्न सरकारका तर्फबाट आवश्यक प्रयास थाल्ने बताए । युवाहरूलाई उद्यमी बनाउन स्टार्टअप कार्यक्रम ल्याएको बताउँदै उनले वर्तमान चुनौतीहरूलाई सम्भावनामा बदल्न आग्रह गरे । युवाहरूले विदेशमा मात्रै सम्भावना देख्ने प्रवृत्ति सुखद नभएको उनको भनाइ छ । 

मन्त्री भण्डारीले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह मिलेर मात्रै देशको विकास सम्भव भएकाले जनतामा देखिएको निराशाको अन्त्य गर्न तिनै तहका सरकारको सहकार्य आवश्यक रहेको बताए ।

जनतामा ‘सरकार मेरो हो’ भन्ने भावना जागृत हुनुपर्ने मन्त्री भण्डारीको भनाइ छ । उनले भने, ‘सरकार एमालेको, कांग्रेसको वा अन्य कुनै दलको हो भन्ने होइन, सरकार मेरो हो, हाम्रो हो भन्ने भावनाको विकास हुनुपर्छ । सरकारबाट जनताले आशा राख्न छाड्नु हुँदैन । बरु नीतिगत कमजोरी छ भने त्यसमा बहस गरौँ नितिनियम सुधार गछौँ, कार्यक्रमहरू सच्याउँछौँ र सरकारलाई बलियो र जनताले अपनत्व महसुस गर्ने बनाउँछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?