पत्रकार महासंघको महाधिवेशन अन्यौलमा, कार्यवाहक अध्यक्ष विष्टले पनि दिए राजीनामा

लोकपथ
56
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि राजीनामा दिएका छन् ।

विष्टको राजीनामासँगै आगामी असोज १२ गतेका लागि तोकिएको महासंघको महाधिवेशन अन्यौलता देखिएको छ ।

उनले विभिन्न राजनीतिक दलसँग आवद्ध पत्रकारका संगठनले सदस्यता शुद्धिकरणका नाममा नांगो हस्तक्षेप गरेको आरोप लगाएका छन् । पत्रकारितासँग कुनै साइनो नै नभएका व्यक्तिहरुलाई सदस्यता दिलाउन दल निकट पत्रकारका संगठनले दबाब दिएको समेत आरोप लगाए । साथै तीनै संगठनका कारण महासंघको निर्वाचन हुन नसकेको समेत बताएका छन् ।

‘पछिल्लो परिघटनामा विभिन्न राजनीतिक पार्टीका भ्रातृ संस्थाहरुले महासंघलाई आफ्नो राजनीतिक र व्यक्तिगत स्वार्थपूर्ति गर्ने मैदान बनाउँदा निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको सबैका सामु छर्लङ्ग छ । राजनीतिक दल आवद्ध पत्रकारका संगठनले महासंघको विधि विधान र संरचनालाई समेत लत्याएर पत्रकारितासँग साइनो नभएका करिब साढे ४ सय व्यक्ति सदस्यका रुपमा थप्न बाध्य पार्नु नाङ्गो हस्तक्षेपको नमुना हो,’ उनको राजीनामा पत्रमा भनिएको छ ।

त्यस्तै लामो समयदेखि महासंघको निर्वाचन नगराउनका लागि विभिन्न तत्वहरु पल्किएको समेत आरोप लगाए ।

पटकपटक महासंघको महाधिवेशनको मिति सर्दै आइरहेको छ । पछिल्लो पटक आगामी असोज १२ गतेका लागि महाधिवेशनको मिति तोकिएको छ । आजका लागि उम्मेदवारको मनोनयनको मिति तोकिए पनि विभिन्न कारण देखाउँदै अनिश्चितकालका लागि मनोनयन स्थगित गरिएको छ । त्यसो त यसअघि नै महासंघको अध्यक्षबाट विपुल पोखरेलले राजीनामा दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?