रवि लामिछानेले आफ्नो ससुरालीको कम्पनी गोपीकृष्ण प्रालिलाई पनि दिएका थिए ८१ लाख २५ हजार रुपैयाँ पेश्की

लोकपथ
357
Shares
फाइल तस्बिर

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालिले आर्थिक वर्ष २०७८/०७९ सम्म ६ करोड ९२ लाख ९७ हजार ४५२ रुपैयाँ पेस्की प्रवाह गरेको जनाएको छ । आज शुक्रबार सार्वजनिक प्रतिवेदनमा उल्लेख भएअनुसार उक्त पेस्की रकम हालसम्म पनि फर्छयौट हुन सकेको छैन । प्रतिवेदनमा गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले आफ्नै ससुरालीका तर्फबाट सञ्चालित गोपीकृष्ण मुभिज प्रालिलाई पनि पेश्की दिएको देखिएको छ । उनको ससुरालीतर्फको संस्था गोपीकृष्ण मुभिज प्रालिलाई ८१ लाख २५ हजार रुपैयाँ पेश्की दिइएको प्रतिवेदनमा उल्लेख छ ।

यसका अलावा, नोबडी प्रोडक्सन प्रालिलाई ४ करोड २१ लाख ९३ हजार ७५० रुपैयाँ, ग्रीन ट्री डेभलपर्स प्रालिको नाममा ५५ लाख रुपैयाँ, आस्रा इन्टरनेशनल प्रालिको नाममा ५० लाख ७२ हजार १६ रुपैयाँ, जुनकिरी इन्टरएक्टिभ प्रालिको नाममा ४० लाख, कार्य बोक्र्स प्रालिको नाममा १० लाख, अयान्स टेक्नोलोजी प्रालिको नाममा ५ लाख ८१ हजार र अन्य ५ लाख ७० हजार ६८६ रुपैयाँ गरी जम्मा करोड लाख ९२ लाख ९७ हजार ४५२ रुपैयाँ पेस्की गएको समितिले जनाएको छ ।

समितिका अनुसार गोर्खा मिडिया नेटवर्क प्रालिले आर्थिक वर्ष २०७७/०७८ मा नोबडी प्रोडक्सन प्रालिलाई ५ करोड ३५ लाख रुपैयाँ पेस्की दिएकोमा आर्थिक वर्ष २०७८/०७९ सम्म पनि ४ करोड २१ लाख ९३ हजार ७५० रुपैयाँ फर्छ्यौट भएको छैन ।

यस्तै, गोपीकृष्ण मुभिज प्रालिलाई आर्थिक वर्ष २०७७/०७८ मा २५ लाख रुपैयाँ पेस्की दिएकोमा आर्थिक वर्ष २०७८/०७९ मा थप ६६ लाख २५ हजार रुपैयाँ गरी ८१ लाख २५ हजार रुपैयाँ फर्छ्यौट हुन बाँकी देखिएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

गोर्खा मिडिया नेटवर्क प्रालिले आर्थिक वर्ष २०७८/०७९ मा कर्मचारीहरूलाई एक करोड १७ लाख ३० हजार ८९२ रुपैयाँ पेस्की दिएको समितिले जनाएको छ ।

जस अनुसार शम्भु गुरागाईंले ८१ लाख ३ हजार १९८ रुपैयाँ, रवि लामिछानेले १७ लाख १८६ रुपैयाँ, विपिन कुमार आचार्यले ९ लाख ७९ हजार ९१२ रुपैयाँ, पुष्पराज गिरीले ६ लाख १२ हजार १९ रुपैयाँ, टीकाराम राईले एक लाख ८५ हजार रुपैयाँ र अन्य एक लाख ५० हजार ५७७ रुपैयाँ पेस्की प्रवाह भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

समितिका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा शम्भु गुरागाईंले कर्मचारी पेस्की बापत ८१ लाख ३ हजार १९८ रुपैयाँ लिइ आर्थिक वर्ष २०७८/०७९ सम्म पनि पेस्की फर्छ्यौट गरेका छैनन् ।

यस्तै रवि लामिछानेले आर्थिक वर्ष २०७७/०७८ मा कर्मचारी पेस्कीबापत पटकपटक गरी लिएको १७ लाख १८६ रुपैयाँ पनि फर्छ्यौट हुन बाँकी रहेको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?