४५ दिनपछि ‘दलितलाई खै ?’ आन्दोलन स्थगित

लोकपथ
70
Shares

काठमाडौं । विभेदविरुद्ध दलितका लागि दलित अभियानको नेल लगाएर प्रदर्शन गरेको ४५ दिन पूरा भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक खगेन्द्र सुनारले नेल खोलेर ‘दलितलाई खै ?’ भन्ने प्रश्न सहितको पहिलो चरणको नेल प्रदर्शन स्थगन भएको जानकारी गराएका छन् ।

संयोजक सुनारले दलितको माग पूरा नभए फेरि ६ महिनापछि पुनः प्रदर्शन गर्ने चेतावनी दिएका छन् । उनले ६ महिना पछाडि वार कि पार हुनेगरी तयारीका साथ काठमाडौं आउने बताए ।

उनले भने, ‘६ महिना पछाडि फेरी यहीँ ठाउँबाट की वार, की पार हुनेगरी तयारीका साथ काठमाडौं आउनेछौं । केही समयका लागि कार्यक्रमहरु स्थगित भएको जानकारी पत्रकार सम्मेलनबाटै गराएँ । सरकारको उधारे सम्झौता भन्दा जनताको आन्दोलन मजबुत बनाउनुपर्छ भन्ने हाम्रो ध्यान छ र लक्ष्य छ ।’

दलितका लागि दलित अभियानका संयोजक सुनारले ४५ दिनदेखि माइतीघर मण्डलामा शरीरमा नेल लगाएर ‘दलितलाई खै ?’ भन्दै प्रदर्शन गर्दै आएका थिए ।

पछिल्लो पटक मन्त्रिपरिषद् गठन असमावेशी भएको, डेढ दर्जन राजदूत नियुक्ति गर्दा समेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव र छुवाछुतको निर्मूल पार्नका लागि सरकारले प्रभावकारी कानुन, नीति कार्यक्रम र बजेटको समेत प्रबन्ध नगरेको भन्दै युवाहरूले विभिन्न प्ले–कार्डसहित र्याली निकालेर दलितलाई खै ? भन्दै प्रदर्शन गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?