ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान

लोकपथ
42
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरु एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै ढिलो गरी छिट्टै एकताबद्ध हुन आह्वान गरेका छन् ।

सहिद प्रतिष्ठान नेपालको पन्ध्रौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले जनयुद्धबाट प्राप्त उपलब्धि र भोग्नुपरेका चुनौती सबै माओवादीका साझा उपलब्धि र चुनौती भएकाले माओवादी घटकहरु मिल्नुको विकल्प नभएको बताएका हुन् ।

‘हामीसँग हजारौँ महान राष्ट्रिय सहिदहरु छन्, यो हाम्रो ठुलो शक्ति हो’ उनले भने,‘माओवादी जतिलाई एकीकृत र केन्द्रीकृत गर्ने बित्तिकै त्यो तागत निकै ठुलो हुनेवाला छ । अझै पनि हामी सही ठाउँमा छौँ, हामी वैधानिक र शान्तिपूर्णरुपमा लडेर पनि जित्न सक्छौँ, जतिसक्दो चाँडो हामी एकताबद्ध भएर अघि बढौँ, विजय सम्भव छ।’

संसदीय चुनाव लडिसकेपछि संख्याका हिसाबले कहिले कम र कहिले बढी हुनु स्वभाविक भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले संसद्को शक्तिभन्दा पनि नेपाली राजनीतिको क्रान्तिकारी र ऐतिहासिक विरासत, बलिदानको गाथा र राजनीतिक विचार तथा एजेण्डाका हिसाबले अहिले पनि माओवादी नै बलियो शक्ति भएको बताए ।

अहिले पनि संसद्मा विपक्षीहरूलाई कमजोर पार्न विभिन्न षड्यन्त्र भइरहेको र पछिल्लो समय महान् जनयुद्धलाई हिंसात्मक क्रियाकलापको रूपमा अर्थ्याएको उल्लेख गर्दै उहाँले यो शब्द फिर्ता नलिँदासम्म संसदबाट प्रतिरोध जारी राख्ने बताए ।

जनयुद्धका महान सहिदलाई सम्मान गर्ने सवालमा निरन्तर काम गरिरहेको पनि अध्यक्ष प्रचण्डले स्पष्ट गरे । पटक पटक सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकेकोले पछिल्लो पटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरू खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको र अब जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता प्राप्त गरेको जानकारी गराउँदै उनले भने, ‘यो हामी सबैका लागि खुसी र गर्वको विषय हो ।

छुटेकालाई पनि केन्द्रित गर्ने प्रक्रिया त्यसमा बाँकी राखिएको छ ।’ यसबाट जनयुद्धका सहिदहरु अब राष्ट्रिय सहिदको रूपमा अजर अमर बनेको उनले स्पष्ट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?