कोशी प्रदेश सभा : बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन

लोकपथ
42
Shares

विराटनगर । कोशी प्रदेशसभाको पाँचौं अधिवेशन अन्त्य भएको छ ।  नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको पत्र सभामुख अम्बरबहादुर विष्टले सदनमा पढेर सुनाएसँगै अधिवेशन समापन भएको थियो ।

त्यस अवसरमा सभामुख विष्टले कोशी प्रदेशसभाले यस पटक समयमै बजेट पारित गरी समितिका विषयगत सभापतिसमेत चयन गर्न महत्त्वपूर्ण सफलता हासिल गरेको बताउँदै सभालाई मर्यादित रूपमा सञ्चालन गर्न सत्तापक्ष र विपक्षसमेत सबैले गरेको सहयोगप्रति आभार प्रकट गरेको थिए । 

गत वैशाख ३१ गते सुरु भएर झन्डै चार महिना चलेको सो अधिवेशनमा २० पटक बैठक बसेको थियो । कोशी प्रदेशसभा सचिवालयका अनुसार यस अवधिमा बैठक ४७ घण्टा ५८ मिनेट ४३ सेकेन्ड चलेको थियो । सचिवालयका अनुसार पाँचौं अधिवेशनको अन्तिमसम्ममा शून्य समय ८४ पटक र वार्षिक नीति तथा कार्यक्रम, विधेयक तथा मुख्यमन्त्रीको विश्वासको मतसम्ममा एक सय ४३ पटक प्रदेशसभा सदस्यले आ–आफ्नो मन्तव्य राखेको थिए  ।

यस अधिवेशनमा आर्थिक विधेयकबाहेक अरू तीन विधेयक पारित भए । केही प्रदेश ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश निजामती सेवा ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ (२०८१) तथा प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक २०८१ पारित भएका छन् । 

प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयकमा चार संशोधन प्रस्ताव दर्ता भएकामा अधिकांश संशोधन सरकारले स्वीकार गरेकाले संशोधनकर्ता प्रदेशसभा सदस्यहरूले संशोधन फिर्ता लिएपछि उक्त विधेयक सर्वसम्मतले पारित भएको थियो । यस्तै प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान ऐनलाई संशोधन गर्न बनेको २०७७ (विधेयक २०८१) मा बिना कुनै संशोधन सर्वसम्मतिले पारित भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?