काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रहरीले घर घेराउ गरेको छ ।
गत असोज २ गते पक्राउ पुर्जी जारी भएपछि घरबाटै ननिस्किएका प्रसाईँलाई आइतबार दिउँसो प्रहरीले उनको घर घेराउ गरेको हो ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ कमेरोटारस्थि प्रसाईँको घर आसपास प्रहरीको बाक्लो उपस्थिती रहेको छ ।
विभिन्न व्यक्तिहरुको चरित्र हत्या गरेको आरोपमा उनीविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो । उनीमाथि कारबाही गर्न ब्यूरोले पक्राउ अनुमति मागेअनुसार काठमाडौं जिल्ला अदालतले पक्राउको अनुमति दिएपछि उनी घरबाटै बाहिर निस्किएका थिएनन् । सोही दिनबाटै प्रहरीले उनको घरमा निगरानी बढाएको थियो ।
उनीसहित प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको थियो । उनीहरु फरार रहेका छन् । तर घरमा लुकेर बसेको प्रसाईँलाई पक्राउ गर्न ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । भक्तपुर प्रहरीको समन्वयमा ब्यूरोले उनलाई पक्राउ गर्ने तयारी गरेको छ । भित्रबाट ढोका नखोलेपछि कम्पाण्ड नै नाघेर प्रहरी उनको घरमा प्रवेश गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया