रविका समर्थकद्वारा अमेरिकामा समेत विरोध, प्रधानमन्त्री ओलीको कार्यक्रम रद्ध

लोकपथ
770
Shares
फाइल तस्बिर

काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाली समुदायसँग गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ ।

न्यूयोर्कमा आइतबार बेलुकी सो कार्यक्रम तय भएकोमा सुरक्षा लगायतको कारण स्थगित गरिएको नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले जनाएको छ ।

महावाणिज्य दूतावासले जारी गरेको सूचनामा तयारी पूरा भए पनि अन्तिम समयमा प्रधानमन्त्री ओली राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर र अन्य साइडलाइन भेटवार्तामा व्यस्त भएको र समारोह स्थलको सुरक्षा संवेदनशीलताको बारेमा सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी कार्यक्रम स्थगन गरेको जनाएको हो ।

प्रधानमन्त्री ओलीको स्वागतमा राखिएको कार्यक्रममा नेपाली समुदायले गैर आवासीय नागरिकता प्रभावकारी नभएकोले पुरानै नागरिकताको निरन्तरता र ड्यालस तथा क्यालिफोर्नियामा कन्सुलेट कार्यालय स्थापनाको लागि आवाज उठाउने तय भएको थियो । त्यसका लागि क्यालिफोर्निया, टेक्सासबाट नेपाली समुदायका अगुवाहरू न्यूयोर्क पुगेका थिए ।

प्रधानमन्त्रीको कार्यक्रम नहुनुलाई नेपालमा पछिल्लो समयमा उत्पन्न घटनाक्रमसँग पनि केहीले जोडेर हेरेका छन् । विशेषगरी पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिना प्रकरणमा परेको र अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिने तयारी भैरहेको छ । आइतबार राति नौ सहकारी प्रकरणमा रविलाई प्रहरीले पक्राउ गर्न खोजेपछि त्यसको विरोध भएको थियो ।

आइतबार अपरान्ह सहकारी ठगी प्रकरणमा मुछिएका गोरखा नेटवर्क प्रालिका सञ्चालक छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको थियो । त्यससँगै बनस्थलीस्थित पार्टी कार्यालयमा रास्वपाका नेता कार्यकर्तादेखि ठुलो संख्यामा समर्थकहरुको उपस्थिती रहेको थियो । त्यसो त अमेरिकामा रहेका रास्वपा समर्थकहरुले नेपाली समुदायले गरेका प्रधानमन्त्री ओली जाने कार्यक्रममा कालोझण्डा देखाउने लगायतको तयारी गरेसँगै कार्यक्रम नै रद्ध गरिएको हो ।

यता मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरिसकेको छ । उनलाई भने व्यक्तिको चरित्र हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?