दुर्गा प्रसाईँ कसरी बने एमाले र केपी ओलीको आलोचक ?

लोकपथ
252
Shares

काठमाडौं । आफूलाई सामाजिक अभियन्तासमेत बताउने मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई आइतबार भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गर्ने क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध रोष प्रकट गरे । खासमा दुर्गा प्रसाईँलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की एक जना महिला केन्द्रीय सदस्यको उजुरीमा पक्राउ गरिएको थियो । नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईँलाई पक्राउ गर्ने क्रममा उनले आफ्नो शरीरमा एक थोपा रगत हुने बेलासम्म ओलीविरुद्ध लडिरहने प्रतिक्रिया दिएका थिए ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईँ पछिल्लो समय विशेष गरी एमाले र एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीविरुद्ध खनिइरहेका छन् । एमाले र एमाले अध्यक्ष ओलीविरुद्ध उनी किन खनिइरहेका छन् ? यस विषयमा हामी यहाँ केही उल्लेख गर्न गइरहेका छौँ ।

दुर्गा प्रसाईँ तिनै व्यक्ति हुन्, जो कुनै बेला नेकपा एमालेका केन्द्रीय सदस्य थिए । सार्वजनिक कार्यक्रमहरूमा उनी ओलीलाई आफ्नो ‘हजुरबुवा’ को नाता लगाउँदै बोल्थे ।

सार्वजनिक अभिव्यक्ति र अन्तर्वार्तामा प्रसाईँले पहिला आफू माओवादी पार्टीमा आबद्ध भएको बताउने गरेका छन् । उनी पछि एमाले बनेका थिए । अहिले भने उनी प्रखर गणतन्त्र विरोधी बनेका र हिन्दूराष्ट्र तथा राजतन्त्रको पक्षमा लागेका देखिन्छन् ।

कुनै बेला एमालेकै केन्द्रीय सदस्य बनेका प्रसाईँ र एमालेका नेताहरूबीच सम्बन्ध बिग्रिनुमा एमाले र ओलीबाट उनको ‘स्वार्थ पूर्ति नहुनु’ पनि एक प्रमुख कारण रहेको हुनसक्ने विश्लेषण पनि बेलाबेलामा नहुने गरेको होइन ।

एमाले र माओवादी मिलेर गठित तात्कालिक नेकपाका अध्यक्ष द्वय प्रचण्ड एवं ओलीलाई आफ्नो घरमा मार्सी चामलको भात खुवाएको एउटा तस्बिर सार्वजनिक भएपछि प्रसाईँ एकाएक चर्चामा आएका थिए । उनी त्यस बेला आफूले झापामा स्थापना गरेको एउटा मेडिकल कलेजलाई सम्बन्धन लिने प्रयासमा थिए ।

मापदण्ड पूरा नगरेका मेडिकल कलेजलाई चिकित्सा शास्त्र अध्यापन गराउन सम्बन्धन दिन नहुने लगायतका माग राखेर प्रा .डा. गोविन्द केसीले गरेको सत्याग्रहका कारण प्रसाईँका जस्तै मेडिकल कलेजहरूलाई सम्बन्धन नदिन सरकार दबाबमा परेको थियो । तात्कालिक अवस्थाको शक्तिशाली दललाई आफ्नो हातमा लिँदा सहजै सम्बन्धन पाउने अपेक्षामा प्रसाईँले ओली र प्रचण्डबीच समझदारी बढाउन आफ्नै घरमा बैठक राखेको र प्रभावित पार्न खोजेको धेरैको बुझाइ थियो ।

त्यसबेला उनले एउटा टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ओली र प्रचण्डबीच विसं २०७४ सालको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गराउन आफूले भूमिका खेलेको दाबी गरेका थिए । नेकपा फुटेपछि भने उनी एमालेका केन्द्रीय सदस्य बने । खासमा उनी केन्द्रीय सदस्य बनेको एमालेका धेरै नेता कार्यकर्तालाई मन परेको थिएन । उनलाई ओलीले नै जबर्जस्ती केन्द्रीय सदस्य बनाएका थिए ।

एमालेको सौराहा महाधिवेशनअघि गोदावरीमा भएको विधान अधिवेशनमा एमालेको प्रतिनिधि बनेपछि त्यति बेलै केहीले विरोधसमेत गरेका थिए । तर त्यसबेला विरोधीहरुलाई एमाले नेतृत्वबाट थामथुम पारिएको थियो । सौराहा महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा चुनिन चाहन्थे । यसका लागि नेतृत्वबाट पहलसमेत भएको थियो । तर, अन्तिम समयमा उनी केन्द्रीय सदस्य चुनिन सकेनन् । महाधिवेशन सकिएको केही समयपछि उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो ।

तर एमालेको केन्द्रीय सदस्य रहेकै बेला झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर एउटा कार्यक्रम गरेपछि उनी उक्त दलबाट निष्कासित हुन पुगे । त्यसपछि उनी एमालेविरुद्ध उग्र रूपमा प्रस्तुत हुँदै आएका छन् ।

केपी ओलीसँग पारिवारिक नाता भएको देखाउन रुचाउने प्रसाईँले एमाले अध्यक्ष ओलीको ‘विदेशको एउटा कम्पनीमा लगानी रहेको भन्ने आरोपका बारे’ विवादास्पद अभिव्यक्तिसमेत दिएका थिए । उनको यो अभिव्यक्तिलाई लिएर आक्रोशित बनेका एमाले कार्यकर्ताहरूले राजधानीमै भएको प्रसाईँको एउटा कार्यक्रमपछि उनलाई कालो मोसो पनि दलेका थिए । त्यसको आरोप उनले एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ र एमाले नेता महेश बस्नेतमाथि लगाएका थिए ।

आफूलाई कालो मोसो दलिएपछि ओलीप्रति उग्र बनेका प्रसाईँले ‘तत्कालीन प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखिएको तर ओलीमा नभएको’ टिप्पणीसमेत गरेका थिए । त्यसलाई कतिपयले उनले सत्ताधारीप्रति नरम र ओलीप्रति कडा अभिव्यक्ति दिएको रूपमा पनि अर्थ्याएका थिए । प्रसाईँले एक पटक ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतलाई दिएर नेपालले बन्दरगाहसम्मको पहुँच लिनुपर्ने’ अभिव्यक्ति दिएका थिए । त्यस लगत्तै ओलीले उनको नाम नलिईकन सरकारले प्रसाईँलाई पक्राउ गर्नुपर्ने बताएका थिए ।

गत वर्ष काठमाडौंका एकै स्थानमा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ र प्रसाईँले आन्दोलन गर्ने घोषणा गरेपछि दुई पक्ष आमनेसामने हुने अवस्थासमेत बनेको थियो । तर स्थानीय प्रशासनले दुवै पक्षका लागि फरक फरक स्थान तोकिदिएपछि स्थिति सहज बनेको थियो । यद्यपि, त्यसबेला दुई पक्षबीच ढुंगा हानाहान भए पनि ‘गम्भीर घटना’ भने हुन पाएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?