टेलिफोन सेवा नियमित गर्न विद्युत जडान सुरु

लोकपथ
0
Shares

हुम्ला । सिमकोट गाउँपालिका–७ ओखरेनको पातिहाल्नमा रहेको नेपाल टेलिकमको सेवा २४ सै घण्टा सञ्चालन गर्न विद्युत सेवा जडान सुरु गरिएको छ ।

विद्युत जडानका लागि ट्रान्समिटर सुर्खेतबाट सिमकोट पु-याइएसँगै विद्युत् सेवा जडानका लागि जनशक्ति खटाइएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले जानकारी दिए । खार्पुदोभानमा एक महिना रोकिएको तीन सय पाँच क्विन्टलको ट्रान्समिटर शनिबार जिल्ला प्रहरी कार्यालय र खार्पु दोजाम प्रहरीचौकी प्रहरीको सहयोगमा पुल तारेर सिमकोट ल्याइएको उनले बताए।

नेपाल विद्युत प्राधिकरण हुम्लाले ट्रान्समिटर राख्नका लागि दुई वटा विद्युत पोल पनि उपलब्ध गराएको छ । सुर्खेतबाट सिमकोट हुँदै पातिहाल्नसम्मको ढुवानी उत्तरी नाम्खा र सिमकोट गाउँपालिकाले बहोर्ने अध्यक्ष भण्डारीले बताए । ट्रान्समिटरसहित प्राविधिकको टोली लिएर नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा त्यहाँ पुगेका छन् ।

उक्त स्थानमा रहेको टावरले नाम्खाका तीन वटा वडा र सिमकोटका दुई वडामा सेवा प्रवाह गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?