सुत्केरीको मृत्युपछि कर्णाली प्रदेश अस्पताल तनावग्रस्त 

लोकपथ
63
Shares

दैलेख । कर्णाली प्रदेश अस्पताल कालगाउँमा सुत्केरीको मृत्यु हुँदा आफन्त आन्दोलित भएका छन् । वीरेन्द्रनगर नगरपालिका–६ बस्ने १८ वर्षीया सुत्केरी शर्मिला सुनारको मृत्यु भएपछि आफन्तहरू बिहानैदेखि अस्पताल परिसरमा आन्दोलन गरिरहेका छन् । चिकित्सकको लापरबाहीका कारण शर्मिलाको मृत्यु भएको आफन्तहरूको आरोप छ ।

डाक्टरले सामान्य अवस्था भनिरहेका बेला एक्कासी सोमबार बिहान साढे ३ बजे सुत्केरीको कसरी मृत्यु भयो, यसको जवाफ मृतकका आफन्तले खोजिरहेका छन् । सुत्केरीको मृत्युको खबर आफन्तलाई दिनुअघि नै प्रहरी तैनाथ गरिनुले घटनामा चिकित्सकको लापरबाहीका कारण भएको आफन्तको भनाइ छ ।  

पीडितहरूले आन्दोलन गरेपछि प्रदेश अस्पतालमा एक सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।  शर्मिलालाई सुत्केरी व्यथा लागेपछि आइतबार दिउँसो प्रदेश अस्पतालमा पुगेकी थिइन् । अस्पताल प्रशासनका अनुसार शर्मिलालाई अस्पताल भर्ना गर्दा ज्वरो आएको थियो ।

प्रदेश अस्पताल सुर्खेतका सूचना अधिकारी विनोद बस्नेतले सुत्केरीको उपचारको क्रममा सोमबार बिहान ३ बजेदेखि ४ बजेको समयमा मृत्यु भएको जानकारी दिए । ‘सुत्केरीलाई हल्का ज्वरो आइरहेको रहेछ, आइतबार दिउँसो अस्पताल भर्ना भएर सुत्केरी भएपछि रक्तस्राव बढी भयो, बच्चाको धड्कन चलेको थिएन, बच्चा मृत जन्मिएको थियो,’ उनले भने ।

यस्तै, बस्नेतले सुत्केरीलाई धेरै रक्तस्राव भएका कारण बेहोस भएपछि आईसीयूमा राखेर उपचार गरिरहेको बेला उपचारकै क्रममा मृत्यु भएको बताए ।

यस्तै, शर्मिलालाई अस्पताल भर्ना गरेपछि बच्चा नचलेको र राति मृत बच्चा जन्मेको अस्पताल प्रशासनले जनाएको छ भने मृतकका आफन्त र अस्पताल प्रशासन छलफल चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?