टेकु अस्पतालमा सरुवा रोगका बिरामीको चाप, सबैभन्दा धेरै डेंगुका बिरामी

लोकपथ
189
Shares

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकु)अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढेको छ । अस्पतालमा डेंगु, स्क्रब टाइफस र रेबिजका बिरामीको चाप बढेको हो ।

अस्पतालका निर्देशक डा.युवानिधि बसौलाले एक हप्तायता बिरामीको चाप बढेको बताइन् । उनका अनुसार डेंगु, स्क्रब टाइफस र रेबिजका ५५ जना भर्ना गरी उपचाररत रहेका छन् ।

अस्पतालका निर्देशक डा.बसौलाले अहिले दैनिक आठ बिरामी उपचारका लागि आउने गरेको बताइन् । तीमध्ये धेरै डेंगु, स्क्रब टाइफस र रेबिजका बिरामी रहेका छन् । भदौयता डेंगुका १९५, स्क्रब टाइफसका १३ र सर्पदंशका ७१ बिरामीले उपचार गरेका छन् । स्क्रब टाइफस मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्ने गर्दछ ।

मुसामा हुने किर्ना प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा देखिने गर्दछ । आजभोलि मानिस घाँसपात गर्न जाने गर्दछन् र सोही किर्नाले टोकेपछि मानिसमा सर्दछ । चिकित्सकहरूका अनुसार मानिसबाट मानिसमा स्क्रब टाइफस सर्दैन ।

धेरै ज्वरो आउनु, धेरै टाउको दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, विस्तारै शरीरका मुख्य अंगले काम गर्न छाड्नु, कीराले टोकेको ठाउँमा रातो दाग देखिने र पछि कालो दाग बस्न जस्ता स्क्रप टाइफसका लक्षण हुन् । समयमा यसको उपचार गर्न नसकेपछि मिर्गौला, कलेजामा असर पर्ने अस्पतालका निर्देशक डा।बसौलाको भनाइ छ । सय शय्याको स्वीकृत पाएको अस्पताल अहिले ८५ शय्यामा सञ्चालनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?